जडीबुटी तथा घरेलु औषधिको भरमा भोजपुर बासीन्दा

भोजपुुर
भोजपुर नगरपालिका–५ बोखिमका ५६ वर्षीय अर्जुनकुमार राई वैशाख १७ गते पहेँलो रोगले थलिए। बिहान–बेलुकी रोगले झन् सिकिस्त बनाउन थाल्यो। सामान्यतयाः दिसापिसाब गर्न चर्पी जाँदासम्म साहारा चाहिने अवस्थामा पुगे। घण्टौ लगाएर अस्पताल जानुको सट्टा उनले जडीबुटीको नियमित सेवन गर्ने निधो गरे।

राईले पहेँलोको निदानका लागि गाउँकै एक जना प्रख्यात जडीबुटी वैद्य राजिन्द्र प्रधानकहाँ परामर्श र औषधोपचार गर्न घर पुगे। अर्जुनलाई स्थानीय वैद्य राजिन्द्रले नियमित जडीबुटीको उपचारमा धाउन थाले। करिब ६ दिन लगातार जडीबुटीको उपचारपछि उनी पहिलेजस्तै हिँडडुल गर्न र खाना रुचाउन थाले। उनको अवस्था पहिलेजस्तै फुर्तिलो हुन थालेको छ।

‘पहिलेबाटै जडीबुटी तथा घरेलु औषधि सेवन गर्दै आएको छु। अस्पताल वा मेडिकलमा उपचार गराउनुपर्ने मानसिकताले गर्दा सामान्य टाउको दुख्दा पनि सिटामोल खाने प्रवृत्ति छ। जुन स्वास्थ्यका लागि हानिकारक हो’, राईले अनुभव सुनाए, ‘गाउँघर, भीरपाखामा पाइने जडीबुटी तथा घरेलु उपचारले पनि रोगको समस्या निदान हुन सक्छ।’

वैद्य राजिन्द्र गाउँमा १४ वर्षदेखि चिराइतो, मजिटोजस्ता जडीबुटी तथा औषधिजन्य वनस्पतिको सहायताले मानिसको जन्डिस, ग्यास्ट्रिक, हाडजोर्नी, मर्केको, भाँचिएको, काटिएको घाउ, खिल पल्टने, कलेजो खराबीजस्ता स्वास्थ्य समस्या निदान गर्छन्। उनीकहाँ सयौं संख्यामा जिल्लाभित्रका स्वास्थ्य समस्या लिएर आउने सर्वसाधारणको उपचार गरिसकेका छन्। तीमध्ये धरान, तरहराका ७ जना र पाँचथरका ६ जनाले ग्यास्ट्रिक गानोगोलाको उपचार गरेर फर्कन्छन्। उनीकहाँ दैनिक ५ जनासम्म बिरामी आउने गर्छन्।

जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी भएको भोजपुरमा परम्परागत चिकित्सा विधिबाट उपचार गरिने जडीबुटी तथा प्रशस्त औषधिजन्य वनस्पति पाइने गरेको छ। अझै पनि दूरदराजका भित्री ग्रामीण भेगका सर्वसाधारण स्थानीय स्तरमै पाइने जडीबुटी र प्राकृतिक औषधिजन्य वनस्पतिलगायत वैदिक आयुर्वेदिक उपचार गर्छन्। वृद्धवृद्धा, अधबैंसे बढीभन्दा बढी जडीबुटी र औषधिजन्य वनस्पति मिश्रित उपचार किफायती रूपमा लिने गरेको व्यापारी पिम्बा शेर्पाले बताइन्। उनका अनुसार विशेष गरी बिरामीहरू काँचो सिम्रिक, यार्सागुम्बा, फिटकिरी, चिप्लेकिरा, बिखुमा, नाम्लेको औषधि, अन्य आयुर्वेदिक औषधि सेवन गर्न आउने गरेका छन्।

०५८ सालदेखि जिल्लामा आयुर्वेदिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चुर्ण सर्वसाधारणलाई वितरण गर्न सुरु गरिएको थियो। भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भोजपुर, टक्सार औषधालय शाखा, दिङ्ला औषधालय शाखा र ओख्रे औषधालय शाखा गरी चार शाखा छन्। आयुर्वेदिक चिकित्साको ज्ञानको कमी, बुझाइको कमी र चेतनाको कमीले कतिपय मानिस जडीबुटी सेवनलाई नमान्ने प्रवृत्ति यथावत् रहेको १७ वर्षदेखि जडीबुटीसम्बन्धी काम गर्दै आएका टेम्के मैयुङ गाउँपालिका–२, छिनामखुका वैदिक चिकित्सक रामप्रसाद राईले बताए। उनले भने, ‘धेरैजसो आयुर्वेदसम्बन्धी ज्ञान नभएका कतिपय मानिसको सोचाइ अझै पनि यो विषाक्त हुने ठान्छन्। उनीहरू सधँै मेडिकलको क्याप्सुल र औषधोपचार गर्ने भएकाले पनि यस्तो किसिमको गलत भ्रम हो।’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको तथ्यांकअनुसार ०७५ माघदेखि असार तेस्रो सातासम्म कुल ७ सय ६७ जनामध्ये ६ सय ५२ जना बिरामी नियमित औषधि सेवनबाट निको भएका छन्। बाँकी १५ प्रतिशत हाराहारीका बिरामी उपचारका क्रममा छन्। जसमध्ये अधिकांश मानिस जन्डिस, ग्यास्ट्रिक, दम, खोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धी रोग उपचारका लागि नियमित औषधि लिन आउने गरेको कार्यालय प्रमुख दिलीप झाले जानकारी दिए। आयुर्वेदिक उपचार र यसको असर ढिलो हुने भएकाले सर्वसाधारणमा यसको चेतना पूर्ण रूपमा पुगिनसकेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *