कांग्रेसको अवरोधका बाबजुद मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश

विराटनगर
प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका बाबजुद प्रदेश १ को प्रदेशसभा बैठकमा आइतबार मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समिति सभापति सरिता थेवेले समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसभामा पेश गरेकी हुन् ।

नेपाली कांग्रेसले भने विधेयक सच्याउन माग गर्दै रोष्टम घेराउ गरी नाराबाजी गरेको थियो । कांग्रेस सांसदको नाराबाजीबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पेश गर्न सामाजिक विकास समिति सभापति थेबेलाई समय दिएका थिए ।

सरकारले प्रदेशसभाको चालु अधिवेशनबाटै पारित गराउने तयारी गरेको उक्त विधेयक रोक्न कांग्रेसले लगातार संसद अवरोध गर्दै आइरहेको थियो ।

कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको छ ।

यसअघि गत सोमबार र मंगलबार पनि कांग्रेसले विधेयक सच्याउन माग गर्दै संसद अवरोध गरेको थियो । कांग्रेसले असोज १ गतेको बैठक पनि अवरुद्ध गरेपछि सभामुख भण्डारीले छलफलका लागि भन्दै ५ दिन संसद स्थगित गरेका थिए । तर यसबीचमा पनि सहमति नभएपछि प्रदेशसभाले कांग्रेसको अवरोधकै बीच विधेयक अघि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *