कति पुस्ता धान्ला मधेशमा वंशवादको राजनीतिले ?

जनकपुरधाम
संघीय समाजवादी फोरम, नेपाल अहिले समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र गत २४ चैतमा पार्टीको विराटनगर अध्यक्षमा विजयी भए । ९० बिरुद्व ११२ मत ल्याएर नगर अध्यक्ष बन्दा संघीय सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका यादवमाथि मधेस आन्दोलनबाट उठेका युवा नेता समीम कमरको राजनीतिक जीवन अवरुद्व पार्न खोजेको आरोप लाग्यो ।

त्यसअघि भएको प्रदेश सभा निर्वाचनमा समाजवादी पार्टीकै नेतृ रेणु यादवले जोडबल गरेर छोरा अभिषेकलाई उम्मेदवार बनाइन् र जिताइन् पनि । समाजवादीका अर्का केन्द्रीय नेता अनिरुद्व सिंहले छोरा आतेशलाई सप्तरीको बोदेबर्साइन नगरपालिका प्रमुखमा जिताए । समाजवादी पार्टीका तीन नेताले आफ्ना छोरालाई एक्कासी राजनीतिमा ल्याएका हुन् ।

पार्टीमा लगानी भएका जुझारु कार्यकर्ताको भाग खोस्दै आफ्ना सन्तानलाई जनप्रतिनिधि बनाउने रोग मधेसका अन्य दलमा पनि उस्तै छ । सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश राष्ट्रिय जनता पार्टी राजपा का केन्द्रीय उपाध्यक्ष शेखर सिंहका छोरा हुन् ।

सप्तरीमा बुवा प्रदेश सरकारको मन्त्री र छोरा स्थानीय तहको मेयर पनि छन् । राजपाका केन्द्रीय उपाध्यक्ष रहेको बेला छोरा शैलेसलाई टिकट दिलाएर हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर निर्वाचित गराएका नवलकिशोर साह ‘रामबाबु’ अहिले प्रदेश २ को सामाजिक विकास मन्त्री छन् ।

श्रीमान्–श्रीमतिको राजनीति

प्रतिनिधिसभामा सांसद रहेका राजपा अध्यक्ष मण्डलका अनिल झाले पत्नी डिम्पललाई समानुपातिक कोटाबाट प्रदेश २ को सांसद हुँदै भौतिक पूर्वाधार राज्यमन्त्री बनाएका छन् । दोस्रो संविधानसभा निर्वााचनमा पराजित हुँदा झाले समानुपातिक तर्फबाट पत्नीलाई सांसद बनाएका थिए ।

त्यसबेला चुनाव हारेका अहिलेका राजपा अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो र सदस्य राजकिशोर यादवले पनि समानुपातिक तर्फबाट आ–आफ्ना पत्नीलाई सांसद बनाएका थिए।

त्यस्तै, दोस्रो संविधान सभामा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद बनेका डा। सुबोध पोखरेल गच्छदारसंगै नेपाली कांग्रेसमा फर्किएर पत्नीलाई सप्तरीको कंचनरुप नगरपालिकाको उपमेयर बनाए । प्रदेश सभा निर्वाचनमा सप्तरी १ बाट उम्मेदबार बनेका डा। पोखरेल आफैं भने पराजित भए ।

काम लागेन भोक हड्ताल

नेताहरुले आफ्नो परिवार र नजिककालाई चुनावमा टिकट दिएपछि कार्यकर्ताहरुले विरोध नगरेका होइनन् । तर विरोध, विरोधमै सीमित भएको देखियो । राजपा सप्तरी क्षेत्र नम्बर ३ का अध्यक्ष लक्ष्मण यादवले त सकृय नेता–कार्यकर्तालाई टिकट दिन माग गर्दै २०७४ कात्तिकमा एक साता भोक हड्ताल नै गरे । कसैले वास्ता नगरेपछि आफैं भोक हड्ताल स्थगित गरेका उनले पछि सप्तरी क्षेत्र नम्बर २ को २ बाट प्रदेश सभामा स्वतन्त्र उम्मेदबारी पनि दिए, तर जित्न सकेनन् । अहिले उनी समाजवादी पार्टीमा छन् ।

प्रतिनिधिसभा चुनावमा ‘आफ्नो क्षेत्रमा बाहिरका व्यक्तिलाई ल्याएर टिकट दिएको’ भन्दै राजपाका सह–महासचिव जयप्रकाश ठाकुरले पनि पार्टीबाट राजीनामा दिएका थिए ।

मधेस आन्दोलनको उद्गम भूमि मानिएको छ सप्तरीमा ‘आफ्नालाई काख र कार्यकर्तालाई पाखा’ गर्ने राजनीति दह्रो गरी कामय छ । मधेस आन्दोलनमा होमिएका गजेन्द्र मण्डल, दीपेन्द्र चौधरी, लक्ष्मण यादव, किशोरकुमार यादवसहितका युवा पार्टीले चुनाव लड्दा आफूहरुले मौका पाउनेमा आशावादी थिए । तर राजपाले अरुलाई नै टिकट बाँड्यो ।

किशोरकुमार यादव चुनाव आएपछि पार्टीले त्यत्रो आन्दोलन गरेका कार्यकर्तालाई भुसुक्कै बिर्सिएको बताउँछन् । ‘दुःख त धेरै लागेको छ, तर मधेसआन्दोलनको साख र पार्टीको इज्जत बचाउन अझै खटिरहेको छु’, उनी भन्छन्, ‘राजनीतिलाई यसैगरी नातावाद, जातीवाद र पैसामा टिकाउन खोज्ने हो भने देशकै लागि दुर्भाग्य हुने छ ।’

स्थानीय तह निर्वाचनमा सप्तरीमा धेरै नवप्रवेशीले टिकट पाएका थिए । डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह टिकट पाउने शर्तमा केही दिनअघि मात्र राजपा प्रवेश गरेका थिए । कञ्चनरुप नगरपालिकामा मेयरको टिकट पाउने माधव चौधरी पनि राजपामा नयाँ अनुहार थिए । यद्यपि, चौधरी पराजित भए ।

राजपाका सह–महासचिव गजेन्द्र मण्डल पार्टी नेतृत्वको त्यसबेलाको निर्णयले आफूहरुलाई चिन्तित बनाएको बताउँछन् । उनी भन्छन्, ‘आफ्नै गाउँमा आफूहरु मिलेर बनाएको उम्मेदवारलाई समेत पार्टी नेतृत्वले मान्यता नदिएर सामन्तवाद प्रदर्शन गरेको थियो ।’

समाजवादी पार्टीका युवा नेता दयानन्द गोइत वंशवाद एसियाकै राजनीतिमा एउटा समस्या भएको बताउँछन् । मधेसमा पनि त्यही देखिएको उनले बताए । तत्कालीन फोरम नेपालबाट सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पार्टी संगठनबाट जनताका लागि काम गर्ने व्यक्तिको लगानी, इमान्दारी, निष्ठाको आधारमा मूल्यांकन हुनुपर्ने बताउँछन्।

राजनीतिले परिवारिक फाटो पनि

सप्तरीको बोदे बर्साइन नगरपालिकामा यस्ता दाजुभाइ छन्, जो राजनीतिकै कारण अलग भए । अनिरुद्व र मृगेन्द्र यादव दाजुभाइ फरक राजनीतिक आस्थाकै कारण एकअर्काबिरुद्व खुलेर लागेका छन् ।

पहिलो संविधानसभा निर्वाचनसम्म सप्तरी क्षेत्र नम्बर ६ बाट लगातार निर्वाचित भएका मृगेन्द्र सिंह यादवको विजय यात्रामा दोस्रो संविधानसभा निर्वाचनमा उनका दाजु अनिरुद्व यादव उम्मेदबार बनेपछि ब्रेक लाग्यो । तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका अनिरुद्व पराजित भए, भाइलाई पनि हराए । भोट दाजुभाइमा बाँडिन पुग्दा कांग्रेसका सुरेन्द्र यादवले जिते ।

स्थानीय तह निर्वाचनमा मृगेन्द्र राजपाबाट मेयरको उमेदवार बनेका भतिजा आतेशविरुद्व खुलेर लागे, यद्यपि हराउन सकेनन् । त्यसपछि प्रतिनिधिसभा निर्वाचनमा मृगेन्द्र र अनिरुद्व दुवै उम्मेदवार बने । तर, राजपा–फोरम गठबन्धन बनेर सिट बाँडफाँट भएपछि फोरमका अनिरुद्व पछि हटे । त्यो चुनावमा दाजुभाइको पार्टी मिले पनि कांग्रेसका तेजुलाल चौधरी विजयी भए ।

‘यो पाराले राजनीतिलाई नै बर्बाद पार्छ’

खुशीलाल मण्डल, राजनीतिज्ञ

एसियाको राजनीतिमा वंशवाद देखिएको धेरै भयो । भारतमा पण्डित जवाहरलाल नेहरुपछि इन्दिरा गान्धी, इन्दिरापछि राजीव गान्धी । यसपछि सोनिया, राहुल र प्रियंका समेत राजनीतिमा आए । पण्डित गोबिन्द बल्लभ र लालबहादुर शास्त्रीका पुत्र पनि मन्त्री भए । सरदार बल्लभ भाई पटेल र राजेन्द्र प्रसादका छोराछोरी भने राजनीतिमा आएनन् ।

पाकिस्तानमा पनि भुट्टोकी छोरी बेनजिर प्रधानमन्त्री भइन् । नवाज सरिफकी छोरी पनि राजनीतिमा आइन् । बंगलादेशमा शेख मोजिबूर रहमानकी छोरी शेख हसिना राजनीतिमा आइन् । खालिदा जियाकी पति पनि राष्ट्रपति थिए । श्रीलंकामा भण्डारानायकेकी श्रीमती र छोरा राजनीतिमा आए । बर्मामा आङसाङ सूचीका बुवा राष्ट्रपति थिए । उत्तर कोरियाको राजनीतिमा चार पुस्तादेखि वंशवाद चलिरहेको छ ।

नेपालमा बीपी कोइरालाको नाममा शंशाक नेपाली कांग्रेसको महामन्त्री छन् । गणेशमान सिंहका छोरा प्रकाशमान र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि आएका छन् । रामनारायण मिश्रका छोरा हरिशंकर पनि एक पटक सांसद भए । रामेश्वर सिंहका छोरा हिम्मत सिंह भने काग्रेसमा ‘एडजस्ट’ हुन सकेनन् ।

एसिया र बाहिर चलेको वंशवाद नेपालको राजनीतिमा पनि हुर्कदै छ । प्रचण्डले छोरा बितेपछि बुहारी बिनालाई मन्त्री बनाएका छन् । छोराछोरी भएको भए केपी ओलीले पनि त्यही गर्थे होलान् ।

मधेसमा पनि त्यही हो । मृगेन्द्र कुमार सिंह यादव पञ्चायतकालमा र अहिले पनि राजनीति गरिरहेका छन् । रेणु यादवको पनि कुरा त्यही हो, छोरालाई पनि प्रदेश सांसद बनाइन् । मृगेन्द्रका भाइ अनिरुद्व सिंह आफू संसदको चुनाव लड्छन्, छोरालाई मेयर बनाउँछन् । उपेन्द्र यादवले छोरालाई विराटनगर अध्यक्ष बनाइहाले ।

एउटा कुरा के छ भने संसारमा वंशवादको राजनीति गर्नेहरु जेल पनि गएका छन् । आन्दोलन गरेर आजादी लिइएका देशहरुमा राजनीति गर्नेहरु जेल पर्नु सामान्य कुरा हो । राजनीतिक परिवारका सदस्यहरु केका लागि राजनीतिमा आए वा आएपछि के गरे भन्ने कुरा महत्वपूर्ण हो । जस्तो– प्रकाशमान सिंह र विमलेन्द्र निधिको तुलना गणेशमान र महेन्द्रनारायणजीसँग गर्न सकिन्न । नेपाल र बाहिर पनि राजनीतिक संस्कार लिएर धेरै कम राजनीतिमा आएका छन् ।

नेपालमा आन्दोलन हुँदा सुजाता कोइरालाले जर्मनीमा आरामको जीवनयापन गरिन् । प्रजातन्त्र आएपछि भने पिता गिरिजाबाबुको कृपाले उपप्रधानमन्त्री बनिन् । जीवनभर राजनीतिक संघर्ष गरेकी शैलाजा आचार्य घुटघुट भएर मरेको इतिहास छ ।

मधेस राजनीतिको पहिलो पुस्ताकाहरु आफूलाई मधेशको मसिहा ठान्छन् । अहिले अवसर पाउँदा आफ्नैलाई ल्याइरहे छन् । राजनीति नबुझेकाहरुले राजनीतिक पद पाउने भएपछि मधेसमा झन् विकृति बढ्छ । अहिले त्यही देखिँदैछ । यसबाट जनता निराश बन्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *