धरौटीमा रिहा भएका कर्मचारीले गरे आत्महत्या

सुनसरी-
एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका कर्मचारीले आत्महत्या गरेका छन् ।

अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर भदौ ३१ गते धरौटीमा रिहा भएको एक साता मै सुनसरीको इनरुवा नगरपालिका–५ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक सुवेदीको शवको भक्तपुर अस्पतालमा मंगलबार नै पोष्टमार्टम गरिएको छ ।

कलङ्की मालपोत कार्यालयमा खरिदारका रूपमा रहँदा गत असार महिनामा १ हजार रुपैयाँ रकम लिँदै गरेको सिसी क्यामराको दृश्य हेरेर अख्तियारले सुवेदीलाई हाजिर हुन कार्यालयमा बोलाएर साउन २२ गते पक्राउ गरी थुनामा राखेको थियो । विगत २१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको १ हजार रुपैयाँ दिँदा ज्यानै गुमाउनुपरेको अस्पताल आएका आफन्तले बताए । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले बताए ।

गत माघमा सुवेदीको बुबाको निधन भएको थियो । सुवेदीले पनि आत्महत्या गरेपछि परिवारमा एकैवर्षमा दुईवटा शोक परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *