प्रदेश १ प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य

विराटनगर : प्रदेश १ प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको लिखितपत्र पढेर सुनाउँदै बुधबार मध्यरातबाट बर्खे अधिवेशन अन्त्य भएको जानकारी दिए ।

यस बर्खे अधिवेशनको ५३ बैठकमा १४ वटा विधेयक पारित भएका छन् । तेस्रो अधिवेशनमा दर्ता भई यस अधिवेशनमा छलफल भएका ४ वटा विधेयकसहित यो अधिवेशनमा पारित १४ विधेयक मध्ये ८ विधेयक सम्बन्धित विषयगत समितिमा छलफल भई सभाबाट पारित भएको सभामुख भण्डारीले बताए । बर्खे अधिवेशन गत जेठ १३ गतेबाट सुरु भएको थियो । चौथो अधिवेशन ६२ घण्टा ८ मिनेट बसेको थियो ।

चौथो अधिवेशनसम्ममा प्रदेशसभाबाट ५ वटा संशोधनसहित ४३ वटा विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । ४२ वटा विधेयक सर्वसम्मत पारित भए पनि मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक भने बहुमतका आधारमा पारित भएको थियो । सो विधेयकमा कांग्रेसले असमति जनाएपछि विरोधका र रोस्टम घेराउका बीच बहुमतका आधारमा पारित गरिएको थियो ।

प्रदेशसभाले आप्mनो जिम्मेवारीमा रहेका सबै कार्य पर्याप्त छलफल विधि प्रकृया र कानुनलाई मध्यनजर गरी समयमै सम्पन्न गरेको सभामुख प्रदीपकुमार भण्डारीले बताए । सभामा पेश भएका सबै विधेयक यसै अधिवेशनबाट पारित गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *