झापामा जङ्गली चितुवा आतङ्क

भद्रपुर/ झापामा जङ्गली चितुवा आतङ्क बढेको छ । भारतीय सीमावर्ती नाकासँग जोडिएको मेचीनगर नगरपालिका ७ स्थित राज टि स्टेट आसपासको बस्तीमा केही दिनदेखि जङ्गली चितुवा आतङ्क बढेपछि स्थानीय चिन्तित बनेका छन् ।

आहारको खोजीमा निस्किने चितुवा रातको समयमा बस्तीमा प्रवेश गरेर किसानले पालेको घरपालुवा जनावर समेत मार्न थालेका छन् । घरपालुवा जनावर मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् । आइतबार राती बस्तीमा आएको चितुवाले राज टि स्टेटका ठेकेदार सन्तोष सुब्बाले पालेको सुँगुर मारेको छ ।

साता दिनदेखि बगानमा जङ्गली चितुवा देखा परेको ठेकेदार सुब्बाले बताए । तीन दिनको अन्तरालमा चितुवाले बगानमै काम गर्ने कामदारले पालेको एउटा सुँगुर र एउटा बाख्रा मारिसकेको उनले बताए ।

‘बगानमा चितुवा निस्किन थालेपछि आसपासका बगानका कामदारसहित बस्ती आसपासका गाउँले त्रसित वनेको उनले बताए । रात परेपछि कोही पनि घरबाट एक्लै बाहिर निस्किँदैन, अहिलेसम्म चितुवाले जनावरमा मात्र मार्दै आइरहेको छ, यस्तै रही रह्यो भने मान्छे मार्ने दिन पनि आउँछ उनले भने ।’ चितुवा बस्तीमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको सौरभ टि स्टेटका कर्मचारी अभिषेक प्रधानले बताए । बस्तीमा चितुवा आतङ्क भए पनि सम्बन्धित निकाय नपुगेको उनको भनाइ छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरेका अनुसार चितुवाले बस्तीमा आतङक मच्चाइरहेको जानकारी पाउन साथ सोमबार वन कर्मचारी टोलीको घटनास्थल पुगेको थियो । वन कर्मचारीले चितुवा नदेखेपछि स्थानीयको गुनासो लिएर फर्किएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *