यौन दुर्व्यहारको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ (२) बमोजिम उपसभामुखको आदेश अनुसार महराको राजीनामा स्वीकृत भएको हो ।
उनले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामापत्रमा उनले भनेका छन्, ‘हिजो(सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।’
सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको थियो । महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन् । नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनुपर्ने उचित हुने निर्णय गरेको हुँदा महराले मंगलबार राजीनामा दिएका हुन् ।
Comments