सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा चक्कु प्रहार

विराटनगरमा एक सिटी सफारी चालकले आज बिहान महिलामाथि चक्कु प्रहार गरेको छ । सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु हानेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार घटनामा घाइते भएकी महिलाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउको चारवटा टाँका लगाइएको छ ।
मेघराजले आफ्नो सिटी सफारी लुकाएर मायादेवीको घरमा जोडेको बिजुलीमा चार्ज गरेपछि दुई पक्षबीच विवाद भएको प्रहरीले जनाएको हो । मायादेवीले बिल धेरै उठ्ने भन्दै आफ्नो घरको बिजुलीमा चार्ज नगर्न आग्रह गर्दा मेघराजले आज ११ बजे चक्कु हानेको प्रहरीको भनाइ छ ।

चक्कु प्रहार गरेर भागेका मेघराजलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर रानाको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी खिँउजुले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *