पेस्तोल र लागूऔषधसहित २ पक्राउ

विराटनगर / सुनसरीको बर्जु गाउँपालिका–३ अमडुवाबाट पेस्तोल र लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ ग¥यो ।
विशेष सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह (आर.आइ.टी.) तथा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मगरटोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट अमेरिकी पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद गरेको थियो ।

बर्जु गाउँपालिकाको अमडुवामा प्रहरीले अवैध साना हतियार बरामद गरेको दुई दिन बित्न नपाउँदै विराटनगरस्थित बसपार्कमा बेवारिसे अवस्थामा सार्वजनिक सवारी साधनभित्र लुकाएको पेस्तोल असोज १४ गते प्रहरीले बरामद ग¥यो ।

त्यो पेस्तोल ल्याउने गिरोहलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । मोरङ प्रहरीले हतियार ल्याउने भरियालाई सुनसरीबाट पक्राउ गरी बुधबार राति मोरङ प्रहरीले ल्याएको छ । अहिले अनुसन्धानको क्रममा रहेकोले मुख्य गिरोहलाई पक्राउ गर्न प्रहरीले ती भरियाएको नाम गोप्य राखेको प्रहरीको भनाइ छ ।

जेठ २७ गते विराटनगरमा खाद्यान्न व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या गर्ने योजना बनाएर आएका भारतीय ‘सार्पसुटर’ १९ वर्षीय कुनालकुमार सिंहलाई मोरङ प्रहरीले दुईथान पेस्तोल र आठ राउण्ड गोलीसहित पक्राउ ग¥यो ।

पक्राउ परेका रायसहित तीनजनाले पाँचलाख भारतीय रुपैयाँको सुपाडी लिएर व्यापारीको हत्या गर्न सार्पसुटर विराटनगर आएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । कुनालकुमार सोही दिन पक्राउ परेका थिए भने अन्य केही दिनपछि । अहिले उनीहरू जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।

माथिका घटना प्रतिनिधिमूलक मात्र हुन् । पछिल्ला वर्षमा हतियार फेला पर्ने क्रम बढेको प्रहरीको अभिलेखले देखाएको छ । पछिल्ला ३ वर्षमा बरामद गरिएका हतियारको बढ्दो सङ्ख्याले पनि त्यही देखाउँछ । साना हतियार अहिले नेपाल प्रहरीका लागि चिन्ताको विषय बनेको छ । साना हतियारको प्रयोगले सयौँ अपराध निम्त्याएको छ । त्यसमा पनि भारतीय सीमासँग जोडिएका जिल्लामा छ्यापछ्याप्ती पाइने साना हतियार र यसको किनबेचले झनै सुरक्षा चुनौति बढाइरहेको छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा २०७३/०७४ मा २६ वटा साना हतियार प्रहरीले बरामद गरेको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको अभिलेखअनुसार ०७४/७५ मा १४ वटा हतियार बरामद भएको थियो । जसमा ११ वटा पेस्तोल र ३ वटा कटुवा पेस्तोल बरामद भएको छ ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा ६ वटा साना हतियार प्रहरीले बढी बरामद गरेको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ । गत आर्थिक वर्षमा १५ वटा अवैध हतियार र ५ वटा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेताबाट गरी जम्मा २० वटा हतियार प्रहरीले बरामद गरेको छ । यस्तै चालू आर्थिक वर्षमा पाँचवटा साना हतियार बरामद गरेको प्रदेश प्रहरीको अभिलेखमा उल्लेख छ ।

प्रहरीको सक्रियता बढेका कारण हतियार बरामद हुने गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ठाकुरप्रसाद ज्ञावलीले जानकारी दिए । खुला सिमानाका कारण हतियारका कारोबारीले यस्ता हतियारहरू सहज रूपमा कम पैसा लिएर उपलब्ध गराइदिने भएका कारण हरेक आपराधिक मनोवृत्ति बोकेका व्यक्तिले हतियार बोक्न सक्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *