अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कलका अर्का एकजना जानकारले पनि उजुरी गरेका छन्।
उनका वकिल, जसले पहिलो उजुरीकर्ताको पनि मुद्दा हेरेका छन्, का अनुसार यी दोस्रा उजुरीकर्तासँग उक्त फोनवार्ताको प्रत्यक्ष जानकारी छ र उनले जासुसी निकायको अनुगमन गर्ने उच्च अधिकारीसँग पनि कुरा गरिसकेका छन्।
त्यसले उनीमाथि हुनसक्ने बदलाका कारबाहीबाट उनलाई जोगाउँछ।
मार्क जेइडले एबीसी समाचारसंस्थासँग कुरा गर्दै दोस्रा उजुरीकर्ता पनि जासुस अधिकारी भएको बताएका छन्।
ह्वाइट हाउसले यसबारे कुनै प्रत्यक्ष टिप्पणी गरेको छैन।
पहिलो उजुरीलाई राष्ट्रपति ट्रम्पले बारम्बार अस्वीकार गर्दै आएका थिए।
ट्रम्पको अवस्था जटिल ?
बीबीसी सम्वाददाता भन्छन् दोस्रो उजुरीकर्ताले राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनको अवस्था झन् जटिल बनाइदिन्छ किनभने उनीहरूले पहिलो उजुरीकर्ता राजनीतिक पूर्वाग्रह ग्रसित भनेर लाञ्छना लगाएका थिए।
सम्वाददाता क्रिस बक्लर भन्छन्, “युक्रेनी राष्ट्रपतिसँग ट्रम्पले बोलेका कुरा अनुचित भन्ने बारे अब एक होइन दुई उजुरीकर्ता देखा परेका छन्। साथै यी दोस्रो उजुरीकर्तासँग उक्त वार्तालापबारे प्रत्यक्ष जानकारी छ।”
विपक्षी डेमोक्र्याटहरूले ह्वाइट हाउस तथा विदेशमन्त्री माइक पोम्पेओसँग थप दस्तावेज माग गरेका छन्।
उनीहरूले ट्रम्पविरुद्ध महाभियोगको छानबिन अघि बढाइरहेका छन्।
आरोप: डर र लोभ
युक्रेनी राष्ट्रपतिसँगको कुराकानीमा ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन आग्रह गरेको आरोप लागेका छन्।
जो बाइडन र उनका छोरालाई समेत मुछिएको आरोपको कुनै प्रमाण भने ट्रम्प प्रशासनले पेश गरेको छैन।
यस विषयमा छानबिन गर्न युक्रेनलाई दबाव दिइएको र त्यसो नगरे सुरक्षा सहयोग स्थगित गरिदिने डर देखाइएको वा भनेको माने युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसमा निम्त्याइने लोभ देखाइएको बताइएको छ।
दोस्रो उजुरीले के फरक पार्छ?
हाल महाभियोग छानबिन अगस्ट महिनामा पहिलो उजुरीकर्ताले उक्त फोन वार्ताबारे दिएको जानकारीमा आधारित छ।
राष्ट्रपति ट्रम्पले उक्त फोन वार्ता जुलाई २५ मा गरेका हुन्।
डेमोक्र्याटहरूले अगुवाइ गरेको छानबिन समितिले सो वार्तालाई प्रत्यक्ष देखेको वा थप सूचना भएका व्यक्तिसँग कुराकानी गर्न चाहिरहेको थियो।
यी दोस्रो उजुरीकर्ता त्यस्तै व्यक्ति हुने आशा समितिको छ।
दोस्रो उजुरीकर्ताले हालसम्म कुनै आधिकारीक गुनासो दर्ता गराएका छैनन् र समितिसँग पनि कुराकानी गरेका छैनन्।
ट्रम्प-युक्रेन प्रकरणबारे चार प्रश्नोत्तर
ट्रम्प किन छानबिनमा परे?
युक्रेनलाई आफ्ना प्रत्यासी जो बाइडनबारे छानबिन गर्ने भनेर ट्रम्पले ‘आफ्नो शक्तिको दुरुपयोग गरेर सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा विदेशको हस्तक्षेप आह्वान गरेको’ आरोप एकजना उजुरीकर्ताले लगाएका छन्।
के यो गैरकानुनी हो?
यदि आरोप प्रमाणित भए भने हो। अमेरिकी निर्वाचन जित्न विदेशी निकायको सहयोग खोज्नु गैरकानुनी हो। ट्रम्पले चाहिँ आफूले कुनै गल्ती नगरेको र केवल आफूलाई खेद्न खोजिएको बताएका छन्।
अब के हुन्छ?
यदि डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदन प्रतिनिधिसभाले ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गरेमा त्यसको सुनुवाइ माथिल्लो सदन सिनेटमा हुनेछ।
के ट्रम्पलाई हटाइएला?
महाभियोग अनुमोदन गर्न सिनेटको दुई तिहाइ मत आवश्यक छ। तर ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रण सिनेटमा कायम छ। त्यसैले त्यो त्यति सम्भव देखिँदैन।
Comments