जेठानी र देबरानीबीच छुरा हानाहान : एक को मृत्यु

बिराटनगर:-
धनुषामा जेठानी र देबरानीबीच भएको विवादमा छुरा हानाहानमा परि एक जनाको ज्यान गएको छ ।
जेठानीले प्रहार गरेको छुराबाट देवरानीको ज्यान गएको छ ।
घटना जिल्लाको औरही नगरपालिका–१, झिटकैयाको हो ।
अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच भएको विवाद छुरा प्रहारसम्म पुग्दा सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार राति दुबैबीच घरायसी विवाद भएको थियो । सोही क्रममा जेठानी सुनौलले देवरानी सहानीको शरीरमा अन्धाधुन्ध छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए । उनका अनुसार सहानीमाथि छुरा प्रहार गरेर सुनौलले आफ्नो पेटमा समेत छुरा प्रहार गरेकी थिइन् । उनले आत्महत्या गर्ने प्रयास गरेको आशंका गरिएको छ ।

डिएसपी कार्कीका अनुसार छुरा प्रहारबाट घाइते भएकी जेठानी–देवरानीलाई उपचारका लागि जनकपुरस्थित काव्या हस्पिटलमा ल्याइएको थियो । तर, उपचारकै क्रममा सहानीको मृत्यु भयो । आफैंले आफ्नै शरीरमा गरेको छुरा प्रहारबाट घाइते भएकी सुनौलको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *