मुस्कान खातुन माथि एसिड प्रहार गर्ने अभियुक्त लाइ अदालतमा पेश गर्ने तयारी

बिराटनगर:-
वीरगञ्जकी १४ बर्षिय मुस्कान खातुन माथि एसिड प्रहार गर्नेलाई प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ ।
एसिड प्रहार भएको ३८ दिन बितिसकेको छ ।
कानुनतः अभियुक्तलाई २५ दिनभन्दा बढी हिरासतमा राख्न नपाउने भएपछि प्रहरी दबावमा छ ।
दशैं विदाका कारण अदातल मंगलबारबाट मात्रै खुल्नेभएको छ ।

प्रहरीले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको बयान लिइसकेको छ ।
एसिड प्रहार गर्नेहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८३ (ज्यान मार्ने उद्योग) र १९३ (तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने) मुद्धा दर्ता गरिंदैछ ।

जसमा दफा १३८ को उपदफा २ बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरीवाना, १९३ को उपदफा २ बमोजिम ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाख जरीवाना र सोही दफाको उपदफा ३ बमोजिम जरीवाना वापत प्राप्त हुने पुरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनुपर्ने माग गरिएको छ ।

अधिकतम सजायको माग दाबीसहित सक्कली मिसिल कागजात, प्रतिवादीहरु, रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
‘घटना भएकै दिन दुवै अभियुक्तलाई हामीले पक्राउ गर्न सफल भएका थियौं, नारायणी अस्पतालले दिएको प्रारम्भीक रिपोर्ट हामीसँग छ,’ उनले भने, ‘पिडित मुस्कान खातुनको बयान भयो भने मुद्धा बलियो हुन्छ भनेर चिकित्सकसँगको परामर्श पछि स्थानीय प्रहरीसँगको समन्वयमा बयान लिइसकेका छौं ।
मुद्धा सरकारी वकिलमा बुझाईसकेका छौं । सम्भवतः मंगलबार मुद्धा अदालतमा पेश हुन्छ ।’

उनले कीर्तिपुर अस्पतालबाट मुस्कानको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्ट माग गरेको तर आइनसकेको जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालय पर्साका अधिवक्ता रुद्र पन्थिले एसिड आक्रणकारीलाई मंगलबार अदालतमा पेश गर्ने जानकारी दिए ।
‘असोज १२ गते नै कागजपत्र हामीकहाँ आएको हो, अदालत नखुलेका कारण मुद्धा अदालतमा पेश गर्न पाईएको छैन,’ उनले भने, ‘अभियोग पत्र तयार गरेर मंगलबार अदालत खुलेपछि मुद्धा पेश गर्ने गरी तयारी भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *