रोनाल्डो युभेन्टस बाहिर

इटालियन सिरी ‘ए’ अन्तर्गत साबिकको विजेता युभेन्टसले आज आफ्नो नवौं खेल खेल्दैछ ।
नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट हुने उक्त खेलमा युभेन्टसले नवप्रवेशी क्लब यूएस लेक्केसँग खेल्न लागेको हो ।
अवे मैदानमा हुन लागेको यस खेल जारी लिगका नवौं साताको दोस्रो खेल हो ।
आजको यस खेलमा शीर्ष स्थानको युभेन्टस आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा छ । हाल ऊ २२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।
अपराजित रहेको उसले ८ मध्ये ७ खेलमा जित र एक खेल बराबरी खेलेको छ ।

इन्टर मिलान २१ अंकसहित लिगको दोस्रो स्थानमा छ । यता, युभेन्टसको आजको प्रतिद्वन्द्वी लेक्के भने ७ अंकका साथ १७औं स्थानमा छ ।
आजको खेलमा एक्के युभेन्टसको अपराजित यात्रा तोड्ने दाउमा छ ।

आजको खेलबाट युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो मैदानमा हुने छैनन् ।
युभेन्टसका प्रशिक्षक मोरिजियो सार्रीले ३४ वर्षीय रोनाल्डोलाई लेक्केविरुद्धको खेलमा टोलीमा राखेका छैनन् ।
सार्रीले रोनाल्डोलाई आराम दिएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा भनेका छन्, ‘रोनाल्डोलाई आरामको जरुरत भएका कारण उनी टोलीमा हुनेछैनन् । उनी अर्को खेलबाट मात्र मैदान फिर्नेछन् ।’

उनी नरहेको खेलमा पाउलो डेबाला, गोन्जालो हिगुइन, फेडेरिको बर्नान्डेस्ची र मार्को ओलिभेरीले फरवार्ड लाइन सम्हाल्नेछन् ।
प्रशिक्षक सार्रीले सार्वजनिक गरेको स्क्वाडमा आरोन राम्से पनि छैनन् । तर, इम्रे क्यान, डेनिलो, एलेक्स सान्ड्रो र माथिस डी लिग्ट, राबिओटजस्ता खेलाडी समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *