फेरि मिर्गौला फेर्नुपर्ने प्रधानमन्त्री ओलीको

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।
मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बुधवार विहान धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो । अस्पतालमा आईसीयुमा राखेर प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो ।

ग्रान्डी अस्पतालमा हिजै प्रधानमन्त्रीको मिर्गौलाको डायलाइसिस गरिएको थियो । तर प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह साह र अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

मिर्गौला पुन प्रत्यारोपणको तयारी

प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ ‘प्लाज्मा फेरासिस’ गरेर प्रधानन्त्री ओली स्वदेश फकिएका थिए ।

शरीरबाट ‘एन्टिबडिज’ हटाउनका लागि प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । प्लाज्मा फेरेसिसबाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसले राम्रो काम नगरेपछि हिजो प्रधानमन्त्रीको डायलाइसिस गरिएको हो । डायलाइसिसबाट कुनै सुधार नभए प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको उच्च श्रोतले खबरहबलाई जानकारी दियो ।

‘डायलाइसिसले पनि भएन भने प्रधानमन्त्रीको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ,’ श्रोतले खबरहबसँग भन्यो,‘मिर्गौला फेर्नका लागि उपयुक्त मानिस पनि तय भइसकेको छ । सम्भव भएसम्म स्वदेशमै ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ ।’

१२ वर्षअघि भारतको अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मिर्गौला दान गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *