नेबेलमा दुई लाख ५० हजारमा कुरा मिल्यो

विराटनगर, उपचारका क्रममा बिरामीको मृत्यु भएर पटक–पटक विवादमा तानिँदै आएको विराटनगरको नोबेल शिक्षण अस्पतालमा लापरबाहीका कारण फेरि अर्को घटना भएको छ । खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको मंगलबार बिहान मृत्यु हुन पुग्यो । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीय माण्डवी राईले साेमबार बिहान सामान्य अवस्थामै दोस्रो सन्तानका रुपमा छोरो जन्माएकी थिइन् । चिकित्सकका अनुसार जन्मिएका बेला तीन किलो तौल भएका शिशुको स्वास्थ्य अवस्था राम्रो थियो । सामान्य अवस्थामै जन्मिएका शिशु र सुत्केरी आमाको स्वास्थ्य अवस्था राम्रो रहेको भन्दै मंगलबार अस्पतालले डिस्चार्ज दिने तयारी गरेको थियो ।

तर मंगलबार बिहान साढे ५ बजे शिशुको मृत्यु भएपछि परिवार तनावमा प¥यो । जन्मिएको २४ घण्टासम्म चिकित्सकले एक पटक पनि नहेरेको र स्वास्थ्य अवस्था नबुझेका कारण बच्चाको मृत्यु भएको दीपकले बताए । विराटनगरको कान्तिपुर कलेजका सञ्चालक समेत रहेका उनले मंगलबाररातिदेखि भर्खर जन्मिएको छोरो कुनै पीडा भए जस्तो गरेर रुने गरे पनि स्वास्थ्यकर्मीले चासो नदिएको गुनासो गरे । ‘मंगलबार बिहान ४ बजेदेखि रुन छाडेको छोरो चिसो र निलो हुँदै गएपछि आत्तिर नर्सलाई सुनाएँ,’ उनले भने, ‘त्यतिबेला धेरै खोजी गरे पनि डाक्टर भेटिएनन् ।’

अस्पतालका विभिन्न वार्ड चाहरे पनि चिकित्सक नभेटिएको र डेढ घण्टापछि शिशुको मृत्यु नै भएको दीपकको भनाइ छ । ‘समयमै चिकित्सक भेटिएर उपचार पाउँदा–पाउँदै घटना भएको भए पनि चित्त बुझउने ठाउँ हुने थियो,’ उनले भने, ‘तर भर्खर जन्मिएको बच्चाका लागि डेढ घण्टासम्म खोजी गर्दा पनि चिकित्सक भेटिएन् ।’ कुनै समस्याले च्यापेको र जन्मिएको २४ घण्टासम्म चिकित्सकले नहेरेका कारण घटना भएको उनको भनाइ छ ।

चिकित्सक खोजी गर्ने क्रममा एनआईसीयूमा पु¥याएपछि डा. सुजित यादव र मधु साहलाई भेटिएको र त्यतिबेला शिशुको मृत्यु भइसकेको उनको गुनासो छ । ‘एक घण्टा भन्दा बढी खोजे पनि चिकित्सक भेटिएनन्,’ दीपकले भने, ‘पछि भेटिँदा छोराको मृत्यु भइसकेको थियो ।’ समयमै उपचार पाउन सकेको भए छोरो बाँच्ने भन्दै उनले उपचारनै नपाएर घटना भएकाले यसमा अस्पताल र चिकित्सकको गम्भीर लापरबाही रहेको बताए ।

तर यो घटनालाई पैसाको लेनेदन गरेर मिलाइएको छ । शिशु पक्षकाले अस्पतालसँग दुई लाख ५० हजार रुपैयाँ लिएका छन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै दीपकका आफन्त गजेन्द्र चौधरी लगायतले मृत शिशु नलैजाने भन्दै ‘बार्गेनिङ’ गरेपछि पैसा दिन अस्पताल बाध्य भएको अस्पतालका एक कर्मचारीले बताए । सुरुमा पाँच लाखको ‘बार्गेनिङ’ गरिएको थियो । अस्पताल डेढ लाख दिन सहमत भएको थियो । त्यसपछि दुई पक्षबीच दुई लाख ५० हजारमा कुरा मिलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *