शुक्रबारदेखि लागेको आगोका कारण तीन जनाको मृत्यु,जलेका घाइतेको अवस्था गम्भीर:अष्ट्रेलिया

अष्ट्रेलिया- 
अष्ट्रेलियाको क्वीन्सल्याण्डको जंगलमा भएको गत शुक्रबारदेखि लागेको आगोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने बताइएको छ । आगलागीमा हराएका चार जनाको खोजी कार्य जारी छ ।

आगलागीबाट १ सय ५० घर पूर्ण क्षति भएका छन् । वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ मानिस विरामी परेको बताइएको छ । आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् ।

डढेलो करिब एक हजार किलोमिटर क्षेत्रमा फैलिएको छ । प्रतिसेकेन्ड ३५ सेन्टिमिटरको दरले ताप आएकोले हजारौं हेक्टर जंगल जलेर खरानी भएको छ । आगलागी भएका सबै स्थानमा अग्नि नियन्त्रक तथा उद्धार टोली अझै पुग्न सकेका छैनन् ।

करिब एक सय स्थानमा लागेको आगो नियन्त्रणका लागि १ हजार ३ सय अग्नि नियन्त्रक परिचालन गरिएको छ । अग्नीनियन्त्रकलाई क्वीन्सल्याण्ड र साउथ वेल्समा सयौं नागरिकले पनि स्वमयसेवीको रुपमा सहयोग गरिरहेका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सेनासँग पनि सहयोग मागिएको बताएका छन् । आगलागी लागेको क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । साथै आसपासका नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *