उदयपुर र खोटाङ जोड्ने बेलिब्रीज पुनर्जडान कार्य सुरु

उदयपुर –

उदयपुर र खोटाङलाई सोझो यातायात सम्बन्ध जोड्ने सीमास्थल फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रीज पुनर्जडान कार्य सुरु भएको छ । उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेललाई सोझो यातायात सेवा जोड्ने उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिकाबीचको सिमानामा पर्ने सुनकोसीमा मंसिर पहिलाे सातादेखि बेलिब्रीज पुनर्जडान कार्य सुरु भएको हो ।

गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले मंसिर सुरुदेखि नै बेलिब्रीज पुनर्जडान कार्य सुरु भएको जनाएको छ । सडक कार्यालयका प्रमुख (डिई) पशुपति ज्ञवालीले यो वर्ष विगतभन्दा अगाडि नै पुनर्जडान कार्य सुरु गरिएको बताए । उनका अनुसार यो वर्ष घटाघटमा

रेग्मी/सुगम/आदित्य निर्माण सेवा गाईघाटले ६० लाख मूल्य लागतमा पुनर्जडानको जिम्मा लिएको छ । निर्माण कम्पनीले आवश्यक उपकरणहरु फोक्सिन्टारमा लगिसकेर धमाधम काम गर्न थालेको ज्ञवालीले बताए ।

सकेसम्म मंसिरभित्रै र नसके पुस पहिलो साताभित्र सञ्चालनमा ल्याउनेगरी बेलिब्रीज पुनर्जडान कार्य थालिएको डिई ज्ञवालीले बताए । गत वैशाखमा बेलिब्रीज खोलेसँगै गाईघाट–दिक्तेलको सोझो यातायात अवरुद्ध हुन पुगेको छ । सोझो यातायात अवरुद्ध भएपछि उदयपुर र दिक्तेलदेखि रसुवासम्म गाडीहरु आएर रसुवाको झोलुंगे पुल तरेर यात्रीहरु गाडी फेरेर चढ्नुपर्ने बाध्यता छ ।

सोझो यातायात सेवा सञ्चालन गर्न नसक्दा यातायात व्यवसायी र यात्रु दुवैलाई घाटा हुने गरेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ । गाईघाट र दिक्तेलदेखि सोझै यात्रु बोक्न नपाउँदा बीचबीचमा यात्रुले अनावश्यक झन्झट भोग्नुपर्ने तथा भाडा पनि तोकिएभन्दा बढी तिर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ ।

जतिसक्दो छिटो बेलिब्रीज सञ्चालनमा ल्याउन सके सेवा सहज दिन सकिने केन्द्रका अध्यक्ष ओमभक्त मैनाली बताउँछन् । उनका अनुसार बेलिब्रीज सञ्चालनमा आएमा दैनिक गाईघाट दिक्तेल आधादर्जन ठूला यात्रुबाहक बस र दर्जन बढी मालबाहक र त्यत्तिकै संख्यामा जीप र बोलेरो सञ्चालन हुने गरेका छन्।

फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल समयमा बनिनसक्दा बर्सेनी हिउँदमा बेलिब्रीज जडान र बर्खामा निकाल्नुपर्ने बाध्यता छ । ५ वर्षअघिदेखि बेलिब्रीज सञ्चालनमा ल्याइएको फोक्सिन्टारमा बर्खायाममा बाढीले बगाउने डरले हरेक वर्ष चैत÷बैसाखमा बेलिब्रीज निकाल्ने गरिएको छ भने कात्तिक÷मंसिरमा पुनर्जडान गर्ने गरिएको छ । यसरी बेलिब्रीज जडान र खोल्ने गर्दा वर्षेनी करोडबढीको खर्च हुने गरेको छ । फोक्सिन्टारमा ३ वर्षदेखि निर्माणाधीन पक्की पुलको गतवर्षसम्म फाउण्डेसनको काम मात्र सकिएको छ । चालु वर्ष अहिलेसम्म पुलको काम सुचारु हुन सकिरहेको छैन।

उदयपुर–खोटाङको सोझो याताायत मार्गमा पर्ने सुनकोसीमा पक्की पुल यथासिघ्र निर्माण गरिसक्नुपर्ने दुवै जिल्लाबासीले दबाब दिए पनि पुलको काम ढिला भईरहेको स्थानीयको गुनासो छ । ३ वर्षभित्र निर्माण सक्ने गरी सुरु भएको भए पनि यतिका वर्षसम्म पुल नबन्दा दुवै जिल्लाबासीलाई बर्सेनी समस्या झेल्नु परेको रौतामाई गाउँपालिका ५ का वडाध्यक्ष पाण्डव राईले बताए । उनका अनुसार पुल नबन्दा एकातिर बर्सेनी राज्यको सम्पत्ति बेलिब्रीजमा खर्च भईरहेको छ भने अर्कातिर दुवै जिल्लाबासी वर्षायाममा बाढीका बेला ज्यान जोखिममा राखेर डुंगा तरेर वारिपारि गर्नुपर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *