निर्माण सुरु भएको वर्षौं भए पनि पुरा हुने छाँटकाँट अलपत्र

विराटनगर-
प्रदेश १ मा गौरवको आयोजनामध्ये ६ लेन र ४ लेनका सडक निर्माण सुरु भएको वर्षौं भए पनि पुरा हुने छाँटकाँट छैन। ४९ किलोमिटरको रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक र झापाको बिर्तामोड–भद्रपुर चार लेनको सडक पनि भद्रगोल छ। वर्षेनी ४ लाख पर्यटक हिड्ने ताप्लेजुङको सुकेटार पाथीभरा सडक पनि वर्षौंदेखि अलपत्र अवस्थामा छ।

रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ६ वर्ष भइसक्यो। सडक धुलाम्मे छ। कतै निर्माण भइरहेको छ। कतै निर्माण भए पनि भत्कन थालेको छ। कालोपत्रे एक लेवलमा छैन। बनेका सडकको एक लेन पार्किङले भरिन थालेको छ। सडक कहिले निर्माण सम्पन्न हुने हो टुँगो छैन।

निर्माण कार्यमा भइरहेको ढिलाइ, समस्या र डीपीआर तयार गर्दा भएका गल्तीका कारण निर्माण कार्य अघि बढाउन समस्या भएको ठेकेदारको तर्क छ। प्रदेश र स्थानीय सरकारले यो विषयमा खासै चासो देखाएको छैन। नागरिक दबाब परे अनुगमन गर्ने नत्र चुपचाप बस्ने प्रवृत्तिले निर्माण सुरुभएको लामो समयसम्म सडक भद्रगोल बनेको हो।

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत विराटनगरको रानीदेखि धरानसम्मको सडक बन्न लागेको हो। सो आयोजनाअन्तर्गत ढल्के–जनकपुर, पथलैया–वीरगञ्ज, बुटबल–बेलहिया, कोहलपुर–नेपालगञ्ज र अतरिया–धनगढी पनि ६ लेन सडक निर्माण थालिएको हो। सबैतिर काम भइरहे पनि निर्माण कार्य सुस्त छ। रानी–विराटनगर–इटहरी–धरान सडक विस्तारको काम ०६९र७० बाट सुरु भएको हो। पहिलो ठेक्का विराटनगरको बरगाछीदेखि दूध फारमसम्म लगाइएको थियो। तीन वर्षमा सडक बनाइसक्नु पर्नेमा सडक नाला र फुटपाथको काम अझै सकिएको छैन।

आयोजना प्रमुख बद्री शर्माका अनुसार रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये ३४ किलोमिटर ठेक्का लागिसकेको छ। १० अर्बको सो योजनामा ३४ किलोमिटर बाटोका लागि ७ अर्बमा ठेक्का लागेको हो। ठेक्का लागे जति सडकलाई १४ टुक्रा बनाएर विभिन्न निर्माण कम्पनीले काम गरिरहेका छन्।

बरगाछी–दूधफारम सम्मको सडक निर्माणमा भएको ढिलाइका कारण निर्माण कम्पनी पीए गीताञ्जली, कान्छाराम निर्माण सेवालाई २ करोड ५० लाख जरिवाना समेत गरेको छ। त्यस्तै सडकको नाला र फुटपाथ निर्माण गर्ने कम्पनीलाई समेत जरिवाना गरिएको छ। ठेक्का लागेको १४ टुक्रामध्ये इटहरी–तरहरा बाहेकको सडक आगामी असार मसान्तसम्ममा बनाइसक्नु पर्ने सम्झौता छ। तर हालसम्मको ६० प्रतिशत मात्र काम भएको आयोजना प्रमुख शर्माले जानकारी दिएका छन्।

ठेक्का लागेका सडक १४ प्याकेजमा भए पनि ठेक्का लिने निर्माण कम्पनीले तुन्दीरमण, कान्छाराम, गीताञ्जली, ढुकुचु, कालिका र शर्मा कम्पनीले विभिन्न प्याकेजलाई संयुक्त रुपमा ठेक्का लिएका छन्। आयोजनाअन्तर्गत दुहवीमा बुढी नदीमा पुल बनाउने ठेक्का पनि लागिसकेको छ।

तरहरादेखि धरानको तीनकुनेसम्मका लागि टेण्डर आह्वान प्रक्रियामै गएकै छैन। आयोजना प्रमुख शर्माका अनुसार उक्त खण्ड जंगल क्षेत्र परेकाले रुख कटानका लागि वनको स्वीकृति चाहिन्छ। त्यसका लागि प्रक्रिया अघि बढाइएको र वनको स्वीकृति पाएपछि टेण्डर प्रक्रिया अघि बढाइने छ।धुलाम्मे बिर्तामोड भद्रपुर सडक खण्ड।

झापाको बिर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेन बनाउन २०७५ साल असार मसान्तमा ठेक्का सम्झौता भएको हो। कम्पनीले असोज मसान्तदेखि मात्र काम सुरु गर्‍यो। सम्झौता अनुरुप उक्त सडक खण्डको म्याद पुस मसान्तमा सकिँदै छ। तर सडकको नालि समेत निर्माण भएको छैन। एडीबीको सहयोगमा तीन वर्षअघि उक्त सडक ठेक्का लागेको थियो। ठेकेदार कम्पनी थोदुङ–लोहनी–सिंह एन्ड ब्रदर्स जेभीले सम्झौता बमोजिम काम नगरेपछि अर्को कम्पनी आशिष प्रेरा जेभीलाई ठेक्का दिइएको सडक डिभिजन कार्यालय झापाका प्रमुख श्यामकुमार यादवले वताए।

सडक निर्माण सुस्त हुँदा हिउँदमा धुलो र वर्खामा हिलाम्मे हुन्छ। नाली निर्माण गर्न खनिएका खल्डो स्थानियको फोहोर फाल्ने स्थान बनेको छ। सडकमा थुपारीएका माटो र निर्माण सामाग्रीले यातायात सञ्चालनमा समस्या भएको छ। निर्माण कम्पनीले १र२ वटा टिपर, जेसीबी र थोरै मात्र मजदुर खटाएकाले कामले गति लिन सकेको छैन।

वर्षेनी ४ लाख पर्यटक हिड्ने ताप्लेजुङको सुकेटार–पाथीभरा सडक खण्डको ११।२५ किलोमिटर सडक वषौँदेखि अलपत्र छ। पाथीभरा दर्शन र कञ्चनजंघा हिमाल घुम्न आउने पर्यटकले सडककै कराण सास्ती खेप्ने गरेका छन्। सरकारले पैसा नदिएको भन्दै ठेकेदारले काम छाडेका छन्। म्याद पुगेको लामो समय बितिसक्दा पनि न ठेकेदारलाई कारवाही भएको छ, न ठेक्का नै तोडिएको छ।हिलाम्मे ताप्लेजुङको सुकेटार–काफ्लेपाटी सडक। तस्बिर स् सीताराम गुरागाई

कन्काई कम्पनीलाई पेश्की वापत १ करोड ५३ लाख ९५ हजार रुपैयाँ भुक्तानी भएको आयोजना कार्यालयले जानकारी दिएको छ। कामको प्रगति ५ प्रतिशत पनि नभएको आयोजना प्रमुख रामबहादुर गुरुङको भनाइ छ। ठेकेदारले भने गरेको कामको समेत पैसा नपाएको भन्दै काम छाडेका छन्। अर्को ठेक्का पनि त्यस्तै भयो। निर्माण कम्पनि सूर्य कन्स्ट्रक्सनले काम त सुरु गर्‍यो तर १ करोड १५ लाख ९६ हजार पेश्की पाएपछि काम छोड्यो।

यो सडकको जिम्मेवारी कसले लिने भन्ने बारे अहिले केन्द्र र प्रदेशबीच जुहारी छ। सुरुमा केन्द्रअन्तर्गतको उत्तर–दक्षिण ९मुलघाट–दोभान–ओलाङचुङगोला० सडक आयोजना, ताप्लेजुङले ठेक्का लगायो। त्यसपछि ०७५र७६ मा प्रदेशअन्तर्गत राखियो। ठेक्का लागेपछि बजेट विनियोजन नहुँदा यस्तो समस्या आएको हो।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा पाथीभरा दर्शनका लागि आएका केपी ओलीले बाटोको दुर्गती देखेपछि स्तरोन्नतीका लागि तत्काल १० करोड रुपैयाँ दिने घोषणा गरेका थिए। घोषणापछि उत्तर–दक्षिण ९मुलघाट–दोभान–ओलाङचुङगोला० सडक आयोजना, ताप्लेजुङले ठेक्का लगायो। तर, पैसा नआएपछि काम हुन सकेन। यो बजेट आउँछ आउँदैन निश्चित छैन। भ्रमण वर्ष मनाउने तयारी भइरहँदा पाथीभरा जाने सडकको दुरावस्थाले यात्रुलाई हैरानी थपेको छ।

पहिलेका योजना अलपत्र छाडेर दुवै कार्यालयले अहिले नयाँ ठेक्का लगाएका छन्। प्रदेशअन्तर्गतको पूर्वाधार कार्यालय पाँचथरले पहिलेकै स्थानदेखि ७ सय मिटर कलोपत्रे गर्ने गरि साउनमा ठेक्का लगाएको छ। वर्ष दिनमा सक्ने गरि १ करोड ५९ रुपैयाँमा साप कञ्स्ट्रक्सनले जिम्मा पाएको छ। तर, हालसम्म काम सुरु भएको छैन। सम्झौतापछि निर्माण व्यावसायी वेपत्ता भएको कार्यालय प्रमुख भरत शाहले बताए। सडक मर्मतका लागि भन्दै संघअन्तर्गतको उत्तर–दक्षिण आयोजनाले पनि १ करोडको ठेक्का लगाउने तयारी भइरहेको आयोजना प्रमुख गुरुङले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *