सभापति देउबाको भनाईमाथि सञ्चारमन्त्रीको कटाक्ष :नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर कुर्लिने?

 

कास्की-

पोखराको चुनावी सभालाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलेको एक बोलीले अहिले नेपाली राजनीति बृत्तमा तरंग ल्याएको छ ।

सभापति देउबाले प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमै भारतले नयाँ नक्शा बनाएको र नेपाली भूभाग भारतले आफ्नो बनाउँदासम्म प्रतिबाद गर्न नसकेको दाबी गरेका थिए । यसैबीच सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले देउबाले बोलेको कुरालाई कडा रुपमा जवाफ दिएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा जवाफ दिँदै बास्कोटाले भने( ‘राष्ट्रियताको अडानमा केपी ओलीकोधारणा , क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैंमा लज्जाजनक विषय हो । म खेद प्रकट गर्न चाहन्छु, उहाँले यदि त्यसो भन्नु नै भएको हो भने ।’ ‘हाम्रो भाषा लर्बरिँदैन देशभक्तिको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? ’

‘आरोप लगाउँदा सत्यमा आधारित मात्र लगाउनुपर्छ ।’ उनले अगाडि भने “यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा विवादास्पद सन्धि टनकपुर सन्धि हामीले बिर्सिएका छैनौं, जसलाई सर्वोच्च अदालतले समेत गलत हो भनेर सँच्याउनुपरेको थियो त्यो सन्धि कसको पालामा भएको थियो देउबाले जवाफ दिन पर्छ ।’

नेकपाका नेता बामदेब गौतमले के भने?

त्यस्तै सभापति देउबाको भनाईमाथि कटाक्ष गर्दै नेकपाका बरिष्ठ नेता बामदेब गौतमले देउबाको भनाइ ठूलो झुट र निराधार भएको र कांग्रेसमा राजनीतिक चिन्तनको स्खलन अत्यन्त दरिद्र अवस्थामा पुगिसकेको आरोप लगाए ।

गौतमले कसैले बोल्न नसक्ने उटपट्याङ कुरा गर्ने देउबाले कुन आशयले त्यसो भने यदि त्यसो हो भने देउबाको दिब्यदृष्टि भारतीय प्रधानमन्त्री मोदीभन्दा पनि अगाडि रहेको ब्यङ्ग्य गरे । उनले अगाडि भने(‘ यदि यस्तै हो भने देउबालाई त भगवान नै मान्न पर्यो ।’

कांग्रेस नेता शेखर कोइरालाले के भने?

सभापति देउबाकै टिप्पणीमाथि स्वयं कांग्रेस नेता डा। शेखर कोइरालाले देउबाको भनाईले आफु अचम्मित भएको बताए । उनले सीमाको विषय गम्भीर भएको र राष्ट्रियतासँग जोडिएको यस विषयमा पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार नेताले सही सूचना भए प्रधानमन्त्रीसँग बसेर वार्ता गर्नुपर्ने अन्यथा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

सभापतिले कुन प्रसंगमा के बोले त्यो ब्यक्तीको धारणा हुनसक्ने तर पार्टीगत हुन नसक्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *