रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग

काठमाडौं : होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जिल्ला प्रशासन कार्यालयले ठमेल, बालाजु, गौशालालगायतका क्षेत्रमा अनुगमन गर्दै आएको बताए । अनुगमनका क्रममा श्रमिकले आफूले आवश्यक सुविधा पाएको बताएको उनले बताए । श्रमिकलाई लगानीकर्ताले आफूले सेवासुविधा पाएको भन्न सिकाएको उनको भनाइ छ । उनले भने, “त्यसो नभने जागिरबाट निकाल्ने हुँदा उनीहरुले आफ्ना कुरा भन्न सकेका छैनन् ।” मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा बिहीबार विश्वास नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले काम गर्ने श्रमिकको अवस्थामा सुधार आउन नसकेको बताएका छन् । यस क्षेत्रका श्रमिकको सेवा–सुविधाका विषयमा कानूनमा उल्लेख भए पनि कार्यान्वयनमा नआएको सहभागी प्रहरी, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले औँल्याएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले होटल र रेष्टुराँमा दैनिकजसो अपराधका घटना भइरहेको र नेपाल प्रहरीले कडाइका साथ कारवाही गरिरहेको जिकिर गरे। होटलका बन्द कोठामा कुनै पनि व्यक्तिको मृत्यु हुँदा हत्या कि आत्महत्या भन्ने छुट्याउन कठिन हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *