बली चढाउन खोजेको आरोपमा सातजना पक्राउ

विराटनगर-
किसोरीलाई बली चढाउन खोजेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । मोडलिङ पेसा गर्दै आएकी किसोरीलाई बली चढाउनका लागि भारत लैजान खोजेको आरोपमा प्रहरीले विराटनगर र काठमाडौंबाट सातजनालाई पक्राउ गरेको हो ।

झापा घर भइ काठमाडौं बस्दै आएकी किसोरीलाई मोडलिङको कार्यक्रममा सहभागि भए विराटनगर आउजाउ गर्ने हवाई टिकटसहित ५० हजार रुपैयाँ दिने आश्वासन दिइएको थियो । तर महिना बारी भए नभएको, मासु खाने नखाने प्रश्न सोधेपछि किसोरीले काठमाडौं प्रहरी परिसर टेकुमा जानकारी गराएकी थिइन् ।

युवतीको सूचनाका आधारमा मोरङ प्रहरीसँगको समन्वयमा सातजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नवलपरासी कावासोती हुप्सेकोट – १ का २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजविराज नगरपालिका– १४ का ४० वर्षीय उमेश शाह, दाङ घोराही नगरपालिका– १० की २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरी सप्तकोसी नगरपालिकाण् ११ का ३५ वर्षीय उमेश माझी, विराटनगर– ८ का ५१ वर्षीय दिलीप पोद्दार, धादिङ खनियाबास गाउँपालिका– २ की ५१ वर्षीया प्रेमा तामाङ र सुनसरी गढी गाउँपालिका– १ का ३७ वर्षीय रञ्जितकुमार चौधरी छन् ।

उनीहरू मध्ये चारजनालाई विराटनगरको पुष्पलाल चौक क्षेत्रबाट पक्राउ गरिएको हो । दुईजनालाई भने विराटनगरको गुद्री बजार क्षेत्रबाट पक्राउ गरिएको थियो । प्रेमा भने सीतापाइलाबाट पक्राउ परेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार काठमाडौं बस्दै आएकी किसोरीलाई बली चढाउन बिहारमा लैजाने योजना थियो । सोही योजनाका साथ काठमाडौंबाट किसोरीलाई विमानबाट विराटनगर ल्याएपछि काठमाडौं प्रहरी परिसरले मोरङ प्रहरीसँग समन्वय गरेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार सोमबार बिहान दाङकी दिलकुमारी बुढासँगै किसोरी विमानमा विराटनगर आएकी थिइन् । काठमाडौंको प्रहरी टोली पनि सोही विमानबाट विराटनगर आएको थियो ।

विमानस्थलमा किसोरीलाई लिन आएका व्यक्तीको पिछा गर्ने क्रममा जलजला चोकको कालिमन्दिरको धर्मशाला हुँदै पुष्पलाल चौकसम्म पुगेको थियो । किसोरीलाई भारत तर्फ लैजाने तयारी गर्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले काठमाडौं प्रहरीले आग्रह गरेपछि मोरङ प्रहरीको पक्राउका लागि समन्वय गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *