उपभोक्ताले प्याज खान छाडे

अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ ।

नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य सधैँको भन्दा बढी छ । हाल तरकारी बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो रु २०० मा कारोवार भइरहेको छ ।

तीन महिनाअघि प्रतिकिलोको ४० देखि ५० रुपैयाँमा कारोवार भएको प्याज तीन महिनाको अवधिमा किलोमा १५० रुपैयाँ पुगेको छ । तरकारी बजारभन्दा बाहिरका खुद्रा पसलमा २५० रुपैयाँसम्म प्रतिकिलोको कारोवार भइरहेको उपभोक्ता बताउँछन् ।

सर्वसाधारणले प्याजको मूल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छाडेको बताए । केही दिनअघि आधा किलो प्याजको १७० रुपैयाँ तिरेको बताउँदै प्याजको मूल्य बढेको देखेर अचम्मित भएको बताए । पछिल्लो समय अरू तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन ।

तर, प्याजमा भने एक महिनाको अवधिमा प्रतिकेजी २०० रुपैयाँसम्म मूल्य पुगेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको तरकारी बजारका व्यापारीहरुको भनाई छ ।

प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारी बताउँछन् । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाइ छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्यधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।

नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महङ्गो मूल्य हो । प्याजको मूल्य मासुभन्दा महङ्गो भएपछि प्याज खान छाडेको उपभोक्ता को गुनासो छ।

एक महिनाअघि प्रति पाँच केजी ४५० रुपैयाँमा खरीद गरेको बताउँदै एक महिनामा दोब्बरले वृद्धि भएको व्यापारीको भनाइ छ ।

प्याजको मूल्यमा वृद्धिसँगै अहिले केही पसलमा प्याज नै पाउन छाडेको छ । भान्सामा दाल, तरकारी, अचार, मासलगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । यस क्षेत्रको ठूलो हिस्सा माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको अभाव देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *