ठेकेदार कम्पनी काम छाडेर भागेपछि ८ वटा बीटीएस टावर अलपलत्र,

ओखलढुंगा
दुर्गममा मोबाइल नेटवर्क प्रभावकारी बनाउनका लागि नेपाल टेलिकमद्वारा ओखलढुंगामा निर्माण थालिएका ८ वटा बीटीएस टावर अलपत्र परेका छन् । ठेकेदार कम्पनी काम छाडेर भागेपछि ग्लोबल टेण्डर आह्वान गरेर निर्माण थालिएका टावर अलपत्र परेका हुन् ।।

६ महिनाभित्र सक्ने गरेर नेपाल टेलिकमले तीन वर्षअघि ग्लोबल टेण्डरमार्फत भारतको एस्टर इण्डिया कम्पनीलाई देशैभरका ६१ वटा बीटीएस टावर निर्माण गर्ने जिम्मा दिएको थियो । तर ठेकेदार कम्पनी टावर निर्माण गर्ने क्रममै सम्पर्कविहीन भएपछि धेरैजसो टावर निर्माणको काम अलपत्र भयो । यसैक्रममा ओखलढुंगाका बलखु, पलापु, कटुञ्जे, फूलबारी, पोकली, खिजीफलाटे, उबू र दियालेमा बीटीएस टावर निर्माण गर्ने काम समेत रोकियो । निर्माणाधीन टावर सञ्चालन गर्न दुई वर्ष अघि नै ४ ठाउँमा सोलार सिस्टम जडानको जिम्मा पाएको आइबीएन कम्पनीले भने आफ्नो जिम्मेवारी समयमै पुरा ग¥यो । अहिले टावर निर्माण गर्ने फिल्डमा जडान गरिएको सोलार सिस्टम खिया लाग्न थालिसकेको छ । तर टावर निर्माणको काम अझै अत्तोपत्तो छैन ।

दुर्गममा मोबाइल नेटवर्क प्रभावकारी बनाउन निर्माण थालिएका टावर नबन्दा यहाँका नागरिकहरु सास्ती खेप्न बाध्य छन् । बीटीएस टावर निर्माणका लागि नागरिकहरु जिल्लास्थित दूरसञ्चार कार्यालयमा हार गुहार गर्न पुगेपनि यो कार्यालय केन्द्रीय र क्षेत्रीय कार्यालयलाई जिम्मेवार देखाउँदै पन्छिँदै आएको छ । टावर निर्माणका लागि हालै विभिन्न चरणमा ठेकेदार कम्पनीसँग छलफल चलेको नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयले जनाएको छ । तर यही मितिमा टावर निर्माण सम्पन्न भएर सेवा सुचारु हुन्छ भन्ने कुरा सो कार्यालयले ठोकुृवा गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *