काठमाडौंलाई कर्मथलो बनाएर विगत १५ वर्षदेखि व्यवसायिक रुपमै बाँसुरीवादनमाहोमिए खोटांगे युवा

खोटाङ

नेपालमा परम्परागत बाजाका रुपमा बजाइने बाँसुरी बाजा लोप हुँदै गइरहेका बेला पूर्वी पहाडी जिल्ला खोटाङको दुर्छिमका नगेन्द्र राई भने बाँसुरी बाजाको प्रबद्र्धनमा होमिएका छन् । काठमाडौंलाई कर्मथलो बनाएर विगत १५ वर्षदेखि व्यवसायिक रुपमै बाँसुरीवादनमा रमाइरहेका राईले बाँसुरी बजाएरै नाम र दाम समेत कमाइरहेका छन् ।

खोटाङको दुर्छिमका युवा बाँसुरीवादक नगेन्द्र राई १५ वर्षदेखि व्यवसायिक रुपमै बासुरीवादनमा होमिएका उनले १५ हजारभन्दा बढी नेपाली गीत संगीतमा बासुरीको धुन भरिसकेका छन् । गाउँमा छँदा ५ वर्षको उमेरदेखि नै बाँसुरी बजाउन हौसिने उनी २०५९ सालमा काठमाडौं छिरेपछि संगीतकार सुशील विश्वकर्मासँगको संगतले उनलाई बाँसुरीवादकको परिचय दिलायो ।

पहाडी इलाकामा कर्णप्रिय बाजाका रुपमा चिनिने बाँसुरी बाजाकै मोहले नगेन्द्रलाई संगीतमा इन्दिरा कलानिधि संगीत महाविद्यालयबाट बीम्युज छिचोल्न सघायो । क्लासिकल, सुगम, स्टुडियो र स्टेज सबैमा भेटिने उनले बाँसुरी बाजाबाटै आफ्नो पहिचान बनाउन सफल भएका छन् । उनी व्यवसायिक रुपमै बाँसुरीको धुन सुनाउँदै गाउँघरका कुना कन्दरामा पुग्ने गरेका छन् ।
नगेन्द्रले ५ वर्ष अघिदेखि किरातेश्वर संगीत आश्रममा समेत बाँसुरी सिकाउँदै आएका छन् । उनले बाँसुरी बाजाको प्रबद्र्धन गर्ने लक्ष्य समेत लिएका छन् ।
नवराज कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *