इराकको बग्दादमा अमेरिकाद्वारा भएको हवाई आक्रमणमा छ जना मारिए

एजेन्सी
इराकको बग्दादमा भएको हवाई आक्रमणमा इरानको कुद्स फौजका प्रमुख कासिम सुलेमानी सहित छ जना मारिएका छन् । कासिम सोलेमानी बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा मारिएको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् ।

आक्रमणमा मारिनेमा कताइब हिजबुल्लाहका कमाण्डर अबु महदी अल मुहान्दिस पनि रहेको बताइएको छ । आक्रमणको जिम्मेबारी अमेरिकाले लिएको छ । अमेरिकी रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि सो कदम उठाइएको उल्लेख गरिएको छ ।

आक्रमणमा मारिने सोलेमानी आतंकवादी घोषित भैसकेको ब्यक्ति भएको समेत रक्षा मन्त्रालयले उल्लेख गरेको छ । आक्रमण लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी झण्डा मात्रै राखेर ट्वीट गरेका छन् ।

ट्वीटमार्फत उनले आक्रमणबारे सांकेतिक प्रतिक्रिया जनाएको अनुमान गरिएको छ । मंगलबार बग्दादमा रहेको अमेरिकी दूतावासमा आक्रमण भएको थियो । अमेरिकाले सो आक्रमणमा इरानको सग्लनता रहेको भन्दै त्यसको ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी ट्रम्पले दिएका थिए ।

चेतावनीपछि शुक्रबार बग्दादमा हवाई आक्रमण भएको हो । कुद्स फोर्स इरानको रिभोल्यूसनरी गार्ड्सको एउटा शाखाको रुपमा रहेको छ । यसका प्रमुख जनरल कासिम सुलेमानी इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीप्रति जवाफदेही रहेको अमेरिकाले बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *