बालवाविवाह घट्न थाले

विराटनगर_
विराटनगर महानगरपालिका–१९ नम्बर वडामा हुँदै आएको बालवाविवाह घट्न थालेको छ । वडाअध्यक्ष बद्रिनारायण सरदारका अनुसार दुई वर्षदेखि बालविवाह निषेध अभियान सञ्चालन गर्न थालेपछि १९ नम्बर वडामा हुने बालविवाह घट्न थालेको हो ।

साठी प्रतिशत दलितहरूको बाहुल्यता भएको विराटनगर महानगरको १९ नम्बर वडा अर्थात् वैजानाथपुर गाउँमा दुई वर्षअघि बालविवाह मुख्य समस्याको रूपमा थियो । तर संघसस्थाहरूको सहकार्यमा बालविवाहविरुद्ध जनचेतना अभियान थालेपछि बालविवाहमा ह्वात्तै कमी आएको अध्यक्ष सरदारले बताए ।

कुल जनसङ्ख्या ५ हजार ६ सय ४० रहेको १९ नम्बर वडामा पुरुषको र महिलाको सङ्ख्या बराबर २ हजार ८ सय २० रहेको छ । बालबालिकाको सङ्ख्या २ हजार ३ सय १३ छ । यो वडामा ५८ प्रतिशत नागरिक साक्षर छन् भने ४९ प्रतिशत निरक्षर छन् । वडा समितिका अनुसार यहाँ पुरुषहरूको तुलनामा महिलाहरू बढी निरक्षर छन् । ज्यालामजदूरी गरेर जीविका चलाउने यहाँका बासिन्दाहरूको आर्थिक अवस्था दयनीय छ ।

वडा अध्यक्ष सरदारका अनुसार हरेक वर्ष ६५ देखि ७० वटा बालविवाह हुँदै आएको वडा नम्बर १९ मा गत दुई वर्षमा २० जनाको मात्र बालविवाह भएको छ ।
विराटनगर महानगरपालिका र वडा बाल संरक्षण समितिको आयोजनामा यहाँ बाल चेतना कार्यक्रम सञ्चालन गरिँदै आएको छ । कार्यक्रमअनुसार वडाका हरेक गाउँ, बस्ती, विद्यालयहरूमा बालविवाहसम्बन्धी जनचेतना कार्यक्रम, सडक नाटकहरू देखाइने गरिन्छ । जसबाट बालविवाह न्यूनीकरणमा सहयोग पुगेको छ ।

बालविवाह रोक्न नारी विकास संघ, वर्ल्ड भिजन इन्टरनेसनल संस्थाहरूले ‘नेपाली जुटौं, बालविवाह रोकौं’ भन्ने मूल नारासहित काम गरिहेका छन् । नेपालले बालविवाहलाई २०२० सालमै गैरकानूनी ठहर गरेपनि चेतनाको अभावमा यो समस्या आजसम्म समाजमा विद्यमान रहेको छ । यहीँ समस्यालाई निर्मूल पार्न वडामा बालविवाह निषेध अभियान सुरु गरिएको वडाअध्यक्ष सरदारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *