इराकबाट आफनो देशका सेना फिर्ता नहुने

एजेन्सी : अमेरिकाले इराकबाट आफनो देशका सेना फिर्ता नहुने जनाएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले इराकबाट आफ्ना सैनिक फिर्ता नलाने स्पष्ट पारेका हुन् । अमेरिकी सैनिक जनरल विलियम एम सीले इराकवाट सेना फिर्ता जानुपर्ने आशयको पत्र पठाएको भएपनि रक्षा मन्त्रालयले सेना फिर्ता नलैजाने स्पष्ट पारेको हो ।

जनरलले लेखेको पत्रमा अमेरिकाले आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने उल्लेख गरिएको थियो । इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो ।

अमेरिकी सेनाले उक्त पत्रको भाषा नमिलेको र गल्तीले पठाइएको बताएको छ । यसअघि इराकको संसदले सेना फिर्ता गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो । इराकी प्रधानमन्त्रीले आफूपनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताइसकेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चाहिँ इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने बताएका छन । अमेरिकाले गरेको हवाई आक्रमणमा इरानी उच्च सैन्य कमाण्डर कासिम सुलेमानीका मृत्यु भएपछि इराकमा अमेरिकी सेनामाथि चुनौती थपिएको छ । सो घटनापश्चात् मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ । इरानले आफ्ना सैन्य जनरलको हत्याको बदला लिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *