कनकाई नगरपालिका जिल्लामा सबैभन्दा बढी पर्यटक

झापा । झापाको मध्य भागस्थित कनकाई नगरपालिका जिल्लामा सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरको रुपमा चिनिन्छ । पर्यटकीय गन्तव्य थोरै भए पनि मुलुकमा कहलिएको जामनुखाडी सामुदायिक वन र व्यक्तिगत लगानीमा सञ्चालित ह्याप्पीलेण्ड फनपार्कले मात्र वर्षमा सात लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आएका छन् ।

स्थानीय दिनेश शिवाकोटी र मनोज शिवाकोटीले १६ करोड रुपैयाँ खर्च गरेर कनकाई नगरपालिका–३ मा ह्याप्पीलेण्ड स्थापना गरेका हुन् । जहाँ वर्षमा मात्र पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकले दृश्यालोकन गरेको उनीहरुको भनाइ छ ।

उनीहरुले साढे पाँच बिघा जमिनमा आकर्षक पार्क, सेल्फीडाँडा, वाटरफल्स, आइफल टावर, पानीको फोहरा, बगैँचा र बाल उद्यानलगायतका कृत्रिम स्थान तयार गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् । दुई वर्षअघि स्थापना गरेको पार्कमा फिल्म, टेलिसिरियल, म्युजिक भिडियो र विवाहको फोटो सेसन गर्न आउनेको दैनिक घुइँचो लाग्ने गरेको सञ्चालक दिनेश शिवाकोटीले बताए ।

सुरुङ्गा बजारबाट करिब एक किलोमिटर उत्तर रहेको पार्कको प्रवेशद्वारमा १०० रुपैयाँको टिकट काटेर प्रवेश गरेपछि सबैकुरा निःशुल्क हेर्न र पार्कभित्र रहेको पिङ, स्वमिङपुलमा निःशुल्क खेल्न सकिने उनको भनाइ छ । ‘नाफामुखी भन्दा सेवामुखी बनेका छौँ,’ उनले भने, ‘हाम्रो उद्देश्य भनेको सस्तो मल्यमा बहुआयमिक मनोरञ्जन गराउने हो ।’

पार्कमा नेपालका वीरगञ्ज, हेटौँडा, सिरहा, सप्तरीदेखि भारतको दार्जिलिङ, सिक्किम, आसम सिलुगढीदेखि बिहारका विभिन्न स्थान, भुटान र बङ्लादेशका पर्यटक आउने गरेका छन् । पार्कभित्रै २५ वटा वनभोज ९पिकनिक० स्थल सञ्चालन भइरहेका छन् भने थप २० वटा बनिरहेका छन् ।

कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन नेपालकै पहिलो पर्यापर्यटन प्रवर्द्धन गर्ने सामुदायिक वन हो । जहाँ वर्षमा दुई लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । पूर्वपश्चिम राजमार्गको सडकखण्डबाट दुई किलोमिटर उत्तरमा रहेको सो वनलाई प्रदेश सरकारले प्रादेशिक प्राणी उद्यान केन्द्र तथा मिनी चिडियाखाना बनाउनका लागि पूर्वधार तयार गरिरहेको छ ।

४३४ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वनभित्र, पाँचवटा ठूला पोखरी, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र, ४० वटाभन्दा बढी वनभोजस्थल र विभिन्न जातका वन्यजन्तु रहेका छन् । जैविक विविधताले भरिपूर्ण सामुदायिक वनमा भारतको पश्चिम बङ्गाल, बिहारदेखि नेपालकै विभिन्न स्थानबाट अध्ययन अनुसन्धानका लागि विद्यालयले विद्यार्थीसमेत लिएर आउने गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेमप्रसाद सिटौलाले बताए ।

पर्यटकलाई असुविधा नहोस् भनेर विभिन्न स्थानमा शौचालय, बिजुली बत्ती, खानेपानी र टहरासमेतको व्यवस्था गरेको उनको भनाइ छ । सो क्षेत्रमा आउने पर्यटकलाई खाना बस्नका लागि राम्रो प्रबन्ध भएका होटलसमेत छन् । नयाँ वर्ष २०७७ देखि स्थानीय क्षेत्रमा होमस्टे सञ्चालनको तयारी, कोसेली घर निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष सिटौलाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *