संसदीय दलको बैठक स्थगित

हेटौंडा : नेकपा प्रदेश तीनको संसदीय दलको बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीका विषयमा सहमति जुटन नसकेपछि आज हेटौडामा बसेको बैठक विना निस्कर्ष टुंगिएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवास हेटौँडामा भएको बैठक सहमतिमा पुग्न नसकेको हो । पार्टी संसदीय दलले राजधानी हेटौडा र नाम बाग्मती राख्न निर्देशन दिएपनि सांसदहरु त्यसमा सहमत देखिएका छैनन् ।

शुक्रबार विहान पुनः बैठक बसेर सहमतिको प्रयास हुने नेकपाका नेताहरुले बताएका छन् । बैठकमा नेकपा सचिवालयको निर्णयलाई कार्यान्वयनबारे छलफल भए तापनि सांसदको असन्तुष्टिले निर्णय लिन कठिन भएको छ । असन्तुष्ट पक्षलाई फेरि आफ्नो कुरा राख्न दिने गरी भोलीसम्मका लागि बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

बैठकमा मुख्यमन्त्री संसदीय दलका नेता डोरमणि पौडेल, उपनेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, मन्त्री, सांसद एवं नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह–इन्चार्ज काशीनाथ अधिकारी, प्रदेशका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *