‘सरकारले किसानलाइ झुक्याको झुक्याइ : किसानले उखुको पैसा पाएनन् !’

काठमाडौं ।
उखु किसानले सहमतिअनुसार आफूहरूले अझैसम्म बक्यौता पाउन नसकेको बताएका छन् ।

सरकारसँग पुस १८ मा भएको सहमतिमा माघ ७ गतेभित्र किसानको सम्पूर्ण रकम खातामा आइसक्ने बताइए पनि अधिकांश किसानको खातामा पैसा नआएको रामविलास महतो कोइरीले बताएका छन् ।
सर्लाही, धनकौल गाउँलालिका २ मा रहेको अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता भुक्तानी नगरेको रामविलासले बताए ।
सर्लाहीकै अर्को महालक्ष्मी सुगर मिलले पनि बक्यौता नदिएको रामविलास बताउँछन् ।
“सरकारले झुक्याउन खोजेको हो कि, चिनी मिलले अटेर गरेका हुन् ।
अहिले किसान मेरो घरमा आइरहन्छन् । पैसा खातामा आएन भन्छन्,” महतोले बाह्रखरीसँग भने ।
रामविलासले आफ्नो खातामा पनि सम्पूर्ण रकम नआएको गुनासो गरे ।
“मेरो करिब २ लाख ९८ हजार रुपैयाँ बक्यौता थियो ।
हिजो बैंक गएर बुझेको १ लाख ९८ हजार मात्रै रकम आएको रहेछ । मिल मालिक सम्पर्कमा छैनन् !,” उनले भने । महालक्ष्मीले २१ करोड ४० लाख ५८ हजार बक्यौतामध्ये ११ करोड ५० लाख खातामा हालेको बताए पनि किसानले पैसा नपाएको गुनासो गरेको रामविलासको दाबी छ ।

अन्नपूर्ण सुगर मिलको ४२ करोड बक्यौतामध्ये ३ करोड ९० लाखमात्रै भुक्तानी दिएको छ । बाराको रिलायन्स सुगर मिल, रौतहटको श्रीराम, कञ्चनपुरको महाकाली सुगर मिल, नवलपरासीको वाग्मती खाडसरी सुगर मिलले बक्यौता दिन बाँकी छ ।

सरकारको अनुदान खोई ?
सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो । तर, मिलले किसानलाई प्रतिक्विन्टल ४ सय ३५ को मात्रै भरपाइ दिएको छ । सरकारले अनुदान दिने भनेको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसासमेत चिनी उद्योगीले अहिलेसम्म नदिएको रामविलासले बताए ।

“सहमति हुँदा अनुदान रकमसमेत दिलाउने सरकारले भनेजस्तो लाग्छ । अनुदानको रकम पनि पाएका छैनौं,” रामविलासले भने । उनले अघिल्ला सालको बक्यौता नपाएकाले यो सिजनको उखुसमेत काट्न नपाएको गुनासो गरे । “माघ लागिसक्दा पनि उखु काट्न पाएका छैनौं । ऋण काढेर उखु काट्यो, खुर्कियो उधारोमा बेच्नुपर्छ । बरु सुकेर जाओस्, काट्दैनौं,” उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *