१० वर्षपछि पक्राउ:मोटरसाइकल चोरीमा अदालतले दोषी ठहर

सात पटकसम्म विदेश जाँदा–आउँदा पनि प्रहरीलाई भेउ भएन
विराटनगर : मोटरसाइकल चोरीमा अदालतले दोषी ठहर गरेका मोरङ कानेपोखरीका भूपाल राई १० वर्षपछि समातिएका छन्। उनी सात पटकसम्म विदेश ओहोर-दोहोर गर्दा पनि पक्राउ नपरेको पाइएको छ।

चोरी मुद्दामा अभियुक्त बनाइएका कानेपोखरी गाउँपालिका ५ का ४२ वर्षीय भूपाल राई पहिलो पटक २०६६ सालमा रोजगारीका लागि कतार गएका थिए। त्यस अघि नै उनीमाथि चोरी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसबेला अदालतले उनलाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। त्यतिबेला उनी सात दिन प्रहरी हिरासतमा बसेका थिए।

राईलाई कानेपोखरी ५ का दीपककुमार साहको मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो।

धरौटीमा छुटे पनि अदालतमा उनको मुद्दा विचाराधिन अवस्थामै रहेको थियो। त्यही बेला अभियुक्त राई रोजगारीका लागिकतार गएको खुलेको छ। उनी कतारमै रहका बेला मोरङ अदालतले उनलाई उपस्थित हुन आदेश दियो। तर उपस्थित नभएपछि अदालतले दोषी ठहर गर्दै २०६८ साल वैशाख ८ गते एक महिना कैद र ८० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

पहिलो पटक कतार गएको तीन वर्षपछि २०६९ सालमा नेपाल फर्किएका उनी एक महिना घरमा बसेर फेरि उतै गए। त्यसपछि प्रत्येक एक वर्षमा काम गर्ने कम्पनीले विदामा घर जाने सुविधा दिन थालेसँगै हरेक वर्ष आउ-जाउ गर्न थाले। १० वर्षसम्म बारम्बार विदेश ओहोर-दोहोर गरिरहे पनि प्रहरीले भने पक्राउ गरेन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई मार्ग हुँदै नेपालबाट कतार र कतारबाट नेपाल आउने–जाने गर्दासम्म विमानस्थल प्रहरी र अध्यागमन विभागले भेउ पाएनन्। दुई महिनाका लागि घर विदामा आएका बेला प्रहरीले घरैबाट पक्राउ गरेपछि हालसम्म राईले सात पटकसम्म कतार ओहोर-दोहोर गरिसकेको खुलेको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो।

‘पक्राउ गरेर चोरी मुद्दा चलाइएका राईलाई सुरुमा अदालतले १५ हजार धरौटीमा छाड्न आदेश दिएको पाइयो। त्यसपछि निस्किएर मुद्दा विचाराधिन भएकै अवस्थामा उनी विदेशतिर गएछन्’, डीएसपी गिरीले भने, ‘कतारमा भएका बेला अदालतलेमुद्दाको अन्तिम फैसला सुनाउँदा दोषी ठहर ग¥यो।’ पटक–पटक विदेश जाँदा पनि दोषी ठहरिएका राईको नाम अदालतको लगत विवरणमा भने फरार प्रतिवादीको सूचीमा रहेको थियो। अदालतले फरार प्रतिवादीको लगत विवरण उपलब्ध गराउने क्रममा राईको पनि नाम उल्लेख रहेपछि उनलाई पक्राउ गरेर अदालतमा बुझाइएको उनको भनाइ छ।

प्रहरीले दोषी राईलाई सोमबार जिल्ला अदालत मोर मा बुझाएको छ। अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले राईलाई जरिवाना वापतको रकम असुल गरेर कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिए। ‘पछिल्लो समय एक महिना अघि उनी कतारबाट विदामा आएका रहेछन्’ श्रेस्तेदार ओझाले भने, ‘अब कानुनले तोकेको दण्ड सजाय भुक्तान गरिसकेपछि मात्रै उनलाई विदेश जान छुट हुन्छ।’

डीएसपी गिरीले विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेका तर फरार रहेका मध्ये २१ जनालाई एक महिनाको अवधिमा पथरीशनिश्चरे र कानेपोखरीबाट पक्राऊ गरेर अदालतमा पेस गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *