समय नपुग्दै जन्मिएका २४ हप्तामै जन्मिए समर, बुवा भन्छन्- आशा मारिसकेका थियौं

गाउँघरमा भन्ने गरिन्छ सात महिनामा जन्मिएको बच्चा भाग्यमानी मानिन्छ रे। त्यसको कुनै वैज्ञानिक कारण र प्रमाण नभए पनि गर्भावस्थामा रहनुपर्ने समय अगावै जन्मिए पनि बाँच्न सफल भएकोले भाग्यमानी ठानिएको होला।

सामान्यतया गर्भमा रहेको ३७ हप्तादेखि ४० हप्तासम्म जन्मिने बच्चालाई सामान्य मानिन्छ। एक अध्ययन अनुसार ४ दशमलव ५ प्रतिशत शिशु ३७ हप्ताभन्दा पहिले नै जन्मिन्छन्। ३७ हप्ताभन्दा पहिले जन्मनुलाई समय नपुग्दै जन्मिएको भनिन्छ।

समय नपुग्दै जन्मिएका शिशुको शारीरिक र मानसिक विकास पूर्णरूपमा नभइसकेको हुनाले बचाउने सम्भावना न्यून हुने चिकित्सकहरू बताउँछन्।

तर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २४ हप्तामा जन्मिएका कपिलवस्तुका समर पन्थीले भने स्वस्थ अवस्थामै पहिलो जन्मदिन मनाएका छन्।

गत वर्ष माघ १० गते ७ सय ७५ ग्रामको तौलसहित समर २४ हप्तामै जन्मिएका थिए।

कपिलवस्तु वाणगंगा नगरपालिका वडा नंं ८ चप्परगाउँकी २३ वर्षीया विमला पन्थी र ३० वर्षीय केशव पन्थीको पहिलो सन्तानको रूपमा जन्मिएका समर सामान्य प्रक्रियाबाटै जन्मिए पनि उनलाई बचाउन भने एक सय पाँच दिन अस्पतालमै राखिएको थियो।

नियमित गर्भजाँचको क्रममा पाठेघरको पानी कम देखिएको र २४ हप्तामै प्रसूति बेथा लागेपछि विमलाले अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी थिइन्।

अत्यन्त कम तौलमा जन्मिएका समरलाई ९१ दिन एनआइसियू र १२ दिन बाल विभागमा राखी उपचार तथा स्याहारसुसार गरेपछि एक किलो आठ सय ५० ग्राम तौल पुगेपछि घर पठाइएको थियो।

घर लगे पनि उपचारमा संलग्न लुम्बिनी प्रादेशिक अस्पतालका बाल विशेषज्ञ डा. नेत्र बहादुर रानासँग नियमित परामर्श र सल्लाहमा स्याहारसुसार र खानपान गराउँदै जाँदा अहिले समर सामान्य बच्चाकै रूपमा विकास भइरहेका छन्।

बच्चाका बाबु केशव पन्थीले पहिलो जन्मदिन मनाउँदै गर्दा समरको तौल साढे सात किलोग्राम पुगेका छन्। जबकी समय पूरा भइ जन्मिएको सामान्य बच्चा पनि एक वर्षको उमेरमा ७/८ किलो तौलको हुने गर्छ।

समरको तौलसँगै समय पुगेर जन्मिएको बच्चा जस्तै हिँड्डुल गर्ने र चलाख रहेको बाबु केशवले बताए।

यति कम तौलको बच्चा जन्मिएर सफल उपचार भई सामान्य बच्चा सरह वृद्धि विकास भएको पहिलो घटना भएको अस्पतालको दाबी छ। त्यही खुसियालीमा अस्पतालको एनआइसियूले समरको पहिलो जन्मदिन समेत अस्पतालमै मनाइदिएको छ।
शरीरमा छाला समेत राम्ररी नबसिसकेको अवस्थामा जन्मिएको छोरालाई स्याहारसुसार र उपचार गरी सामान्य बच्चा सरह पुर्‍याइदिएकोमा पन्थीले अस्पताल परिवारलाई धन्यवाद दिए।

‘हामीले त बचाउन सकिन्छ भनेर आशा मारिसकेका थियौं, डा. नेत्र राना लगायतको टिमले साढे तीन महिनासम्म अस्पतालमा राखेर स्याहारसुसार उपचार गरी छोरालाई बचाइदिनुभयो’, उनले सेतोपाटीसँग भने।

लुम्बिनी प्रादेशिक अस्पतालमा चार वर्ष पहिले स्थापना भएको एनआइसियुमा ८ वटा बेड रहेका छन्। वर्षैभरि सबैजसो बेड प्याक भइरहने भए पनि असामान्य अवस्थामा रहेका शिशुलाई भने अस्पतालले प्राथमिकता दिने गरेको छ।

नेपाल सरकारले २९ हप्ताभित्र जन्मिएका शिशुहरूको उपचार नि:शुल्क गरेपछि अस्पतालमा यस्ता शिशुको उपचार नि:शुल्क हुने गरेको छ।

त्योसँगै एनआइसियु भर्ना भएका नवजात शिशुका आमालाई समेत अस्पतालमै भर्ना गरेर बस्नको लागि बेडको व्यवस्था गरिएको छ।

नेपाल सरकारले २९ हप्ताभित्र जन्मिएका शिशुहरूको उपचार नि:शुल्क गरेपछि अस्पतालमा यस्ता शिशुको उपचार नि:शुल्क हुने गरेको छ।

त्योसँगै एनआइसियु भर्ना भएका नवजात शिशुका आमालाई समेत अस्पतालमै भर्ना गरेर बस्नको लागि बेडको व्यवस्था गरिएको छ।

२०३० सम्म नवजात शिशुको मृत्युदर १८ बाट झारी १४ मा पुर्‍याउने विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुरूप आफ्नो सेवाप्रवाहलाई पनि स्तरीय बनाउँदै लगिएको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *