यति होल्डिङ्ससँग मितेरी साइनोजस्तो ब्याख्या गरियो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यति होल्डिङ्स कम्पनीसँग सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको मितेरी साइनोजस्तो गरी ब्याख्खा हुनेगरेको बताएका छन्।
नेकपा केन्द्रीय कमिटी बैठकमा बुधबार सरकारले गरेका काम बचाउ गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, ‘यति होल्डिङ्स मानिलिऔं हाम्रो एकदम घनिष्ट साइनो हो कि मितेरी साइनो हो कि के हो जस्तो गरेर ब्याख्या गरेका छन्।’

उनले ब्यापारिक घरानाको प्रतिस्पर्धामा सरकार पर्न नचाहेको पनि दाबी गरे। उनले माओवादीसमेत सामेल रहेको शेरबहादुर देउवा सरकारले प्रक्रिया पुर्‍याएर नै ताहचलको जग्गा लिजमा दिएको पनि बताए।

‘अहिलेको सरकारलाई आरोपित गरिएको छ। सायद माओवादी पनि रहेको शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारकै पालामा प्रक्रिया पुर्‍याएर लिजमा दिने नीति बनाएरै दिएको हो,’ उनले भने।उनले तत्कालीन महासचिव मदन भण्डारीले पासाङ ल्यामुलाई पर्वतारोहणमा जानुअघि गरेको विदाइका फोटो राखेर अहिले यति होल्डिङसँग सरकारलाई जोड्ने गरिएको पनि बताए।

‘त्यतिबेलाको फोटो जतिबेला यति एयरलाइन्स स्थापना पनि भएको थिएन अरू थुप्रै कुराहरू उनीहरूको स्थापना नै भएको थिएन,’ उनले भने, ‘सरकारले कुनै गल्ती गरेको छैन। गल्ती गर्नुपर्ने छैन।’उनले पाथिभरामा केवलकार बनाउन यतिलाई सित्तैमा जग्गा दिएको नयाँ पत्रिकाले लेखेको समाचारको प्रसंगमा सित्तैमा कसैलाई जग्गा नदिएको दाबी गरे।

‘८० वर्ष सित्तैमा जग्गा दिएको होइन। वनको जग्गाको सट्टा अर्को ठाउँमा जग्गा उपलब्ध गराउने गरी ३० वर्षका लागि ९३ रोपनी जग्गा दिइएको रहेछ,’ प्रधानमन्त्री ओलीले भने।उनले सरकार व्यापारिक घरानाको प्रतिस्पर्धामा नरहेको पनि बताए। सरकारले विकास निर्माणका काम गर्ने र कानुनसम्मत काम गरिरहेको पनि ओलीको दाबी छ।

उनले गोकर्ण फरेष्ट रिसोर्टलाई पनि जग्गा प्रक्रिया पुर्‍याएर दिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *