प्रयोगशालामा बन्यो कोरोनाभाइरसः खोप

वैज्ञानिकहरु भन्छन्ः कोरोनाभाइरस खतरनाक, तर इबोला वा सार्स जत्तिको चाहिँ छैन !चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारीले संसारभरि नै आतंक छाइरहेको बेला अस्ट्रेलियाका वैज्ञानिकहरुले पहिलो पटक प्रयोगशालामा नै उक्त कोरोनोभाइरस बनाएका छन् । अस्ट्रेलियाका वैज्ञानिकहरुको यो सफलताले उक्त खतरनाक भाइरसका विरुद्ध भ्याक्सिनको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

चीनको वुहान शहरको मासुबजारबाट शुरु भएर फैलिएको भनिएको सो खतरनाक कोरोनोभाइरसले यो लेख्दासम्म १०६ जनाको ज्यान लिइसकेको छ, चीनका मुख्य शहरहरुमा समेत गरेर ४ हजार बढीमा यसको संक्रमण देखापरिसकेको छ । त्यति मात्र हैन, यो भाइरसको संक्रमणले चीनको सीमा नाघेर नेपाल, अमेरिका, अस्ट्रेलिया, जापान, भियतनाम, श्रीलंका, कम्बोडिया, क्यानडा लगायतका १७ देशहरुमा पुगिसकेको छ ।

महामारी रोक्नको लागि चीन सरकारले युद्धस्तरमा अभियान थालेको छ, १२ सय जना कोरोनाभाइरस संक्रमितहरुलाई उपचार गर्न सक्ने क्षमताको विशिष्ट अस्पताल एकै हप्तामा निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । भाइरसको उत्पत्ति थलोमा आवातजावातमा पूर्णतः रोक लगाइएको छ । चीनका गाउँ गाउँमा बाहिरी मानिसहरुको प्रवेशमा स्वतःस्र्फूत रुपमा स्थानीय वासिन्दाहरुले बन्देज लगाइरहेका छन् । तर पनि कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइसकेको छैन ।

त्यसो त यो भाइरसको महामारीका कारण अहिलेसम्म मृत्यु हुनेहरु चीनमा मात्रै रहेका छन् तर यो भाइरस मानिसबाट मानिसमा सर्ने खालको भएको पत्ता लागेको छ र त्यसले वैज्ञानिकहरुलाई चिन्तित तुल्याएको छ । हालसम्म कुनै औषधी वा खोप पनि उपलब्ध नरहेको यो भाइरसको संक्रमणको फैलावट हेर्दा त्यसले चीन बाहिर पनि मृत्युको घटना नहोला भनेर ढुक्क हुन सक्ने स्थिति बनिसकेको छैन ।

यो स्थितिमा वैज्ञानिकहरु नोबोल कोरोना नाम दिइएको यो खतरनाक भाइरसका विरुद्ध औषधी तथा खोपहरुको निर्माण गर्ने कोशिशमा जुटेका छन् । त्यसै सिलसिलामा अस्ट्रेलियाका वैज्ञानिकहरुले विशेष सुरक्षायुक्त प्रयोगशालामा सो भाइरसको निर्माण गर्ने सफलता प्राप्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *