प्रचण्ड’ले भने तपाईंहरूले जित्नुभयो, हामीले हार्‍यौं

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले जितेको र आफूहरूले हारेको बताएका छन्।

कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका एजेन्डामै रहेर निर्णयहरू भएको समेत बताएका थिए।

विशेषगरी मञ्चमा दुई अध्यक्षको फोटो राखिएको विषयमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्न इंगित गर्दै प्रचण्डले सदस्यहरूले जितेको र आफूहरूले हारेको बताएका थिए।

‘तपाईंहरूले जित्नुएको छ। अबदेखि पार्टीका नेताहरूको फोटो यसरी राखिँदैन,’ उनको भनाइ उद्धृत गर्दै एक सदस्यले भने।

बैठक हलमा राखिएका दुई नेताका तस्वीरले राजसंस्थाको झल्को दिएको भन्दै केन्द्रीय सदस्य राजेन्द्र राई, जगन्नाथ खतिवडा, लेखनाथ न्यौपाने लगायतले विरोध समेत गरेका थिए।

त्यस्तै केन्द्रीय समितिमा सदस्यहरूले उठाएका विषयमा छलफल हुँदैन, सदस्यले बोलेका कुरा गम्भीरतापूर्वक लिइँदैन भन्ने आशंका पनि निवारण भएको प्रचण्डले दाबी गरे।

‘हामी कराउने मात्रै हो। हामीले बोले पनि केही हुँदैन भन्ने सम्मका आशंका थिए,’ प्रचण्डले बैठकमा भने,’ बैठकले सर्वसम्मतिले निर्णय गरेको छ। तपाईंहरूको कुरा सुनुवाइ भएको छ। त्यस अर्थमा तपाईंहरूले जित्नुभएको छ।’

अधिकांश केन्द्रीय सदस्यले दलाल-पुँजीपतिको घेरामा नेतृत्व परेको छ भनेको सुन्दा छाती चसक्क भएको समेत उनले बताए।

‘कतिपय कुरा त तपाईंहरूले यति धेरै नभनेको भए हुन्थ्यो जस्तो पनि लाग्यो। हामी दलाल-पुँजीपतिका घेरामा परेको आरोप सुन्दा यो सबै छोडेरै हिडौं जस्तो पनि लाग्यो, किनकि हिजो पनि छाडेकै हो,’ प्रचण्डका भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘फेरि हामीले छाडेर अलपत्र पारेर पनि भएन। हामीले बीचमा छाडेर हिँड्ने होइन भन्ने पनि लागेको छ।’

पछिल्ला दिनमा तीव्र आलोचना भएको यती होल्डिङ्सको विषयमा रक्षामन्त्री इश्वर पोखरेलसँग कुरा भएको भन्दै प्रचण्डले यसबारे रक्षामन्त्रीले श्वेतपत्र जारी गर्ने तयारी गरेको जानकारी दिए। बालुवाटार प्रकरणमा भने प्रचण्डले केही बोलेनन्।

राजनीतिक प्रतिवेदनमा प्रचण्डले अमेरिकाले चीनलाई घेर्ने रणनीतिका साथ इन्डो प्यासिफिक रणनीति ल्याएको उल्लेख गरेका थिए। राजनीतिक प्रतिवेदनबाट यो वाक्यांश हटाएको समेत उनले जानकारी दिए। धेरै केन्द्रीय सदस्यले यो विषय हटाउन माग गरेका थिए।

राज्यका संयन्त्रका कारण काम गर्न चाहँदा पनि कतिपय काम गर्न सकिने अवस्था नरहेको प्रचण्डको भनाइ छ। मन्त्रीकै कुरा सुन्दा दया लागेर आउने भन्दै प्रचण्डले मन्त्रालय र त्यसका काम मन्त्रीको हातमा मात्रै नरहेको समेत बताए। पार्टीभित्र विचारको गुटभन्दा पनि स्वार्थ केन्द्रित गुट रहेकाले यसलाई भत्काउन पर्ने प्रचण्डले बताएका थिए।

‘राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर फरक मत खासै आएन। विचारको गुट भएको भए विचार केन्द्रित बहस नै हुन्थे,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘विचारमा आधारित नहुने गुट हुँदैन। त्यो स्वार्थ समूह मात्र हुन्छ, त्यसलाई भत्काउन पर्छ।’

प्रचण्डले निर्वाचन प्रणालीका विषयमा पनि आफ्ना धारणा राखेका थिए। उनले पार्टीभित्र र बाहिरको पनि निर्वाचन प्रणालीमा सुधार जरूरी रहेको बताएका थिए।

‘खर्चिलो प्रणालीका कारण सचिवालयकै कतिपय सदस्यले अबको निर्वाचन नलड्ने भन्न थाल्नुभएको छ,’ एक केन्द्रीय सदस्यले प्रचण्डका भनाइ उद्धृत गर्दै भने, ‘एउटा सांसद बन्न करोडभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आइसकेको छ। धनी मात्रै सांसद बन्नेखालको यो प्रणालीमा इमानदार र निष्ठावान मान्छे सांसद बन्न कठिन छ। त्यसैले नयाँ विकल्पबारे सबैले सोच्नपर्ने बेला आएको छ।’

पार्टीभित्रको निर्वाचन पनि केही फरक बनाउन पर्नेमा उनले जोड दिए। पार्टीभित्र मनोनित मात्रै गर्दा नेतृत्व ‘स्टालिन’ जस्तो बन्ने र निर्वाचनबाट मात्रै छिनोफानो हुँदा बुर्जुवा पार्टी जस्तै बन्नसक्ने खतरा रहेको प्रचण्डले बताएका थिए।

प्रचण्डले सरकारले गरेका काममा सन्तुष्ट हुने अवस्था नरहेको तर्फ पनि संकेत गरेका थिए। श्रमजीवि वर्गको मन जित्ने गरफ काम गर्न नसकेमा पार्टी बडारिने चेतावनी दिँदै उनले घुमाउरो गरी सरकारको आलोचना गरेका थिए।

पार्टीलाई ‘लेभी’का रूपमा पूर्व एमाले सांसदहरूले मासिक १३ हजार र पूर्व माओवादी सांसदले १२ हजार रुपैयाँ बुझाउँदै आएकोमा अब सबैका लागि १२ हजार रुपैयाँ कायम गरिएको समेत प्रचण्डले बताए।

पार्टी बैठकपछि केन्द्रीय सदस्यहरूले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

केन्द्रीय सदस्य दिलु पन्तले पार्टीका निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नेमा नेतृत्वले जोड दिएकाले पार्टीमा समावेशी प्रतिनिधित्व हुनेमा आशावादी रहेको बताइन्। पार्टी महाधिवेशनसम्म महिला प्रतिनिधित्व बढाउने प्रयास गर्ने र महाधिवशेनबाट यसको ग्यारेन्टी गर्ने प्रतिबद्धता प्रचण्डले जनाएको पन्तले बताइन्।

केन्द्रीय सदस्यले दिएको सुझाव र आलोचना नेतृत्वले आत्मसात गरेकाले पार्टी सही दिशामा जाने अपेक्षा बढेको केन्द्रीय सदस्य राजेन्द्र राईले बताए।

अर्का केन्द्रीय सदस्य विष्णु रिजालले व्यवस्थापकीय रूपमा समेत पार्टी सफल भएको बताए।

‘पार्टीमा विचार महत्वपूर्ण त हुन्छ नै। सँगै व्यवस्थापकीय पाटो पनि महत्वपूर्ण हुन्छ,’ रिजालले भने, ‘१५ गते सुरू भएको बैठक १९ गते सकियो। समयमा सुरू भयो, समयमै सकियो। यसले पार्टी हरेक कुरामा अनुशासित छ भनेर प्रमाणित भएको छ।’

अर्का केन्द्रीय सदस्य हेमराज भण्डारीले पार्टी एकतापछि पहिलो पटक भएको बृहत भेलाले एक अर्कालाई बुझ्न सहज बनाएको बताए।

‘यो बैठकले को बलियो र को कमजोर भनेको छैन। न त केन्द्रीय सदस्यहरूले यसलाई महत्व नै दिए,’ उनले भने, ‘बैठकमा केन्द्रीय सदस्यहरूको जोड पार्टी बलियो बनाउनमा केन्द्रित रह्यो।’

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी नेतृत्व सामूहिकतामा चलेको सन्देश तलैसम्म जानेमा आफू विश्वस्त रहेको बताए।

‘पार्टी बैठक समापन हुनुअगाडि सचिवालय बैठक बस्यो। त्यसपछि दुई अध्यक्षले सम्बोधन गर्नुभयो,’ उनले भने, ‘यसले देखाएको छ, पार्टीले गरेको निर्णयमा सचिवालयका सबै नेताको एकरूपता छ।’

अर्का केन्द्रीय सदस्य विशाल भट्टराईले बैठकमा सबै केन्द्रीय सदस्यहरूले स्वतन्त्र र दवाबमा नपरी आफ्ना धारणा राखेको भन्दै सबैलाई पार्टी हाम्रो हो भन्ने परेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *