१९ माघ, काठमाडौं । भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको एक निजी विद्यालयमा आइतबार बिहान सर्लाही घर भइ मध्यपुर ठिमी–६ बस्ने २० वर्षीय आशिष थापा पुगे ।
विद्यार्थीको आफन्तको रुपमा परिचय दिँदै भित्र छिरेका थापाले एलकेजीमा पढ्ने ६ वर्षीया बालिका सुनिता (नाम परिवर्तन) लाई बाहिर लैजान चाहेको सुनाए । बुबाले पठाएको भनेपछि विद्यालयले ‘अभिभावक कार्ड’ विनै सुनितालाई थापाको जिम्मा लगाए ।
बुबाको नाम लिएपछि थापाको मोटरसाइकलमा उनी सजिलै चढ्छिन् । थापा सुनिताको नातेदार भएको प्रहरी बताउँछ ।
भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधान भन्छन्, ‘तर, बालिकाले थापालाई चिने जस्तो देखिँदैन किनकि, उद्दारपछि उनले थापाको नाम लिएकी थिइनन् ।’
प्रहरीका अनुसार थापा बालिकालाई लिएर घ्याम्पे डाँडा पुगे । जंगल क्षेत्र पनि पर्ने पर्यटकीय स्थलमा पुगेर हात बाँधेपछि बालिका चिच्याएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
त्यसपछि थापा डरले भागेको देखिएको अधिकृतहरू बताउँछन् ।
जंगलमा अलपत्र अवस्थामा भेटेपछि सर्वसाधारणले उनलाई स्कुलसम्म फिर्ता ल्याइएको महानगरीय प्रहरी वृत्त, ठिमीले जनाएको छ ।
भागेपछि फिरौती लिने प्रयास
घटनास्थलबाट भागे पनि बालिकाको बुबालाई भने थापाले फिरौती माग्न छाडेका थिएनन् । साँझ ५ बजेसम्म १६ लाख रुपैयाँ फिरौती नदिए जे पनि हुने भन्दै उनले धम्क्याएको एसपी प्रधान बताउँछन् ।
बालिका अभिभावकको साथमा पुगेको केही घन्टापछि ५ बजेतिर भाटभेटनी क्षेत्रमा उनी फिरौती लिन आए । अपहरणकारी पक्राउका लागि प्रहरीले बुनेको योजनाबारे उनले भेउ नै पाएनन् ।
जब थापा फिरौतीको रकम लिन अघि बढे, त्यहीवेला सादा पोशाकमा परिचालित टोलीले उनलाई समात्यो । साथै, बालिका पनि अभिभावकको साथमै रहेको सुनायो ।
अनुसन्धान अधिकृतका अनुसार थापा पक्राउ परेको स्थान उनी बस्ने स्थान नजिकै हो ।
Comments