फिदिम : पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा भ्रूणहत्या गर्न बाध्य बनेकी १९ बर्षिया दलित युवतीले औषधिका खोल देखाउँदै भनिन् ‘साथमा एक रुपैयाँ पनि छैन‘औषधि सबै सकियो,’ । अब के गर्नु ? ’
२१ हप्ताको भ्रूणहत्या गर्न बाध्य बनाइएकी उनी आफन्तको शरणमा सदरमुकाम फिदिममा छिन्। खर्च नभएपछि आवश्यक औषधि खरिद गर्न सकेकी छैनन्। घर जान नपाउने र आमालाई भेट्न नपाउने अध्यक्षको धम्कीले पीडितलाई थप पीडा थपेको छ। ‘मलाई घर ल्याउन पाउदिनस भनेर गाउँपालिका अध्यक्षले आमालाई धम्काएका छन्,’ उनले दुःखेसो पोखिन्, ‘हामीसँग धनसम्पति छैन, अब मेरो भबिष्य के हुन्छ ? ’
सदरमुकामको समर्पित अस्पतालमा २१ हप्तको भ्रुण फालेपछि उनलाई अहिले कम्मर र जिउ दुख्ने समस्या बढेको छ। अस्पतालले एक महिना पुगेपछि फलोअपका लागि बोलाएको छ। सदरमुकाम बस्न र औषधी उपचारका लागि पैंसा नभएको उनको गुनासो छ।
उजुरी नदिन दबाब
अध्यक्ष चेम्जोङ र उनकी पत्नी बिमलाले आफूहरूबिरुद्द उजुरी नदिन युवतीकी आमालाई दबाब दिएका छन्। ‘उहाँहरुले उजुर बाजुर नगर्नु भन्नुभएको छ,’ पीडित युवतीकी आमाले टेलिफोनमा भनिन् ‘हामीलाई अप्ठ्यारोमा नपार्नु भन्नुभएको छ।’
पत्रकारले समाचार सम्प्रेषण गर्न थालेपछि छोरीलाई फिदिमबाट भगाएर झापाको विर्तामोड पुर्याउन र उतै कोठा राख्न चेम्जोङ दम्पत्तिले दवाव दिदै मुद्दालाई भित्रभित्रै मिलाउनुपर्ने सर्त राखेका पीडित पक्षको भनाई छ।
साभार /अन्नपुर्ण पोस्ट
Comments