उपमहानगरपालिकाकाले मोटो रकमको चलखेल गर्यो भन्दै स्थानीयको आक्रोश : जनकपुरधाम

धनुषा, २३ माघ ।
जनकपुरधाममा सरकारी, सार्वजनिक र गुठीका जग्गा स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि मात्र नभई स्थानीय तह प्रमुख समेतले सडक विस्तारको नाममा अतिक्रमण गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

बिहीवार जनकपुरधाममा आयोजित सरकारी, सार्वजनिक र गुठीका जग्गा संरक्षण जाँचबुझ आयोगद्वारा कार्यक्रममा स्थानीयले जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको प्रसंगको चर्चा गर्दै सडक विस्तारको नाममा जनकपुरधाम उपमहानगरपालिकाकाले मोटो रकमको चलखेल गरी व्यक्तिको जग्गा बचाउन मन्दिरकै जग्गा अतिक्रमण गरेको आरोप लगाए ।

पटक पटक नापी हुँदा मन्दिरको जग्गा अतिक्रमण भएको प्रष्ट भइसकेको अवस्थामा स्थानीय प्रशासनले त्यो प्रतिवेदनलाई कार्यान्वयन गर्न नसकेको भन्दै स्थानीयले आक्रोस पोखे ।
कार्यक्रममा समाजिक युवा अभियन्ता सुशिल कर्णले ऐतिहासिक धरोहर जानकी मन्दिर बचाउन पटक पटक नापी गर्दा उपमहानगरपालिकाले आफ्नो प्रतिनिधि नपठाउने र सो टोलीले तयार पारेको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन हुन नसक्नु मोटो रकमको चलखेल भएको प्रष्ट भएको बताए ।

त्यसैगरी समाजवादी पार्टीका नेता महाशंकर ठाकुरले जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा आएको नापी प्रतिवेदन कार्यान्वयन उपमहानगरपालिकाले गराउन नसक्ने र प्रतिक्रिया मांग्ने जाने पत्रकारदेखि आमजनतालाई कुटपिट र दुव्र्यवहार गर्ने मेयर लालकिशोर साहलाई नौतिकताको आधारमा राजनीनामा दिनुपर्ने तर्क गरे ।

कार्यक्रममा सहभागीहरुले आम नागरिकबाट अतिक्रण भएको जग्गा सरकारले खाली गराउने, तर जिल्ला स्थित सरकारी कार्यालयहरु नै कोही लिजको नाममा कोही बिना जानकारीकै अवैध तरिकाले गुठीको जग्गामा कार्यालय संचालन गर्दै आएको भन्दै त्यस्तालाई कसले कारवाही गर्ने भन्ने प्रश्न समेत उठाएका थिए ।

कार्यक्रममा आयोगका अध्यक्ष मोहन रमन भट्टराईले स्थानीयबाट आएका जिज्ञासाको जवाफ दिदै भने ‘सरकारी, सार्वजनिक र गुठीको जग्गा कसैले मिच्नु हुदैन, यदि मिचिएको छ भने अतिक्रमण खाली गरी संरक्षण गर्ने सबैको दायित्व हो ।’

आयोगले पुर्वका भोजराज घिमिरे आयोग र प्रो पब्लिक लगायतका विभिन्न प्रतिवेदनलाई टेकेर नयाँ तरिकाले जाँचबुझ गरी प्रतिवेदन सरकारलाई बुझाइने उनको भनाइ छ ।
‘स्थानीय जनप्रतिनिधिबाट जानकी मन्दिरको जग्गा अतिक्रमणको कुरो छ, यदि त्यो भएको छ भने सर्वथा गलत हो, सडक विस्तारको नाममा मन्दिरको जग्गा अतिक्रमण गर्नु भनेको पापको भागीदारी बन्नु हो । यसमा स्वच्छ समिति गठन गरी छानबीन गरेर दोषीलाई कानूनको दायरमा ल्याउनुपर्छ’ अध्यक्ष भट्टराईले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *