फलामको खानी उत्खनन प्रक्रिया शुरु

दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया शुरु भएको छ।

खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडाँै आफैँले खानीको उत्खनन प्रक्रिया शुरु गरेको हो। विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण थालेको छ। त्यसका लागि विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेल, भूगर्गविद् प्रकाश पोखरेलसहितको टोलीले एक सातादेखि अध्ययन गरिरहेको छ।

टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा गुणस्तर के–कति छ भनेर अध्ययन गरिरहेको भूगर्भविद् पोखरलेले जानकारी दिए।

उनका अनुसार इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)को माध्यमबाट अध्ययन अनुसन्धानकोे काम भइरहेको छ। अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमीनमुनि भएको पाइएको छ। दुईदेखि आठ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमूना सङ्कलन पनि गरिरहेको पोखरेलले बताए।

विभागको मानदण्डअनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन प्रक्रिया शुरु हुन्छ । यस वर्ष विस्तृत सर्भे गर्छौँ, सबै प्रतिवेदन सकारात्मक आएमा अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरु हुन्छ,पोखरेलले भने।

नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खननमा तदारुकता देखाएसँगै कँडेल नेतृत्वको टोलीले सम्भावित क्षेत्रहरुमा अध्ययनलाई तीव्रता दिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए।

धुँवाकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच विसं २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो। उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै काम शुरु गरेको पोखरेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *