दैलेखमा मलेरियाका बिरामी भेटियो

दैलेखमा मलेरियाका बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन्।

रोजगारीका लागि भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो। नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन्।

बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौँमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो। बिरामीको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।

मलेरियाका बिरामी दैलेख क्षेत्र-२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नम्बर १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाबाट भेटिएको हो।

मलेरिया रोग अन्यत्र सर्न नदिनका लागि सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा.निराजन पन्तले बताए।

पन्तले मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सर्तक रहन सल्लाह र परामर्श दिने गरेको जानकारी दिए।

जिल्ला अस्पतालका वरिष्ठ ल्याव असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार मलेरियाका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्ला बाहिर उपचारका क्रममा मलेरिया भेटिएको बताए।

सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा.मदन कोइरालाका अनुसार मलेरियाका नौ बिरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारीरूपमा स्थानीयवासीमा जनचेतना जगाउनुपर्ने बताए।

नेपाल सरकारको नीतिअनुसार एक जनामात्र मलेरिया बिरामी भेटिएको अवस्थामा तत्काल निगरानीमा राखी निःशुल्क उपचार गर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *