कोरोनाभाइरसको जोखिममा कोरियाका ४० हजार नेपाली

फ़गुन११,बिराटनगर। दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेपछि रोजगारका लागि गएका करिब ४० हजार नेपाली जोखिममा परेका छन्।

दक्षिण कोरियास्थित नेपालको राजदूतावासले गत फेब्रुअरी ६ मा कोरोनाभइरसबाट सचेत हुन सूचना जारी गरेको थियो। इपिएस कोरिया शाखाका निर्देशक कृष्ण प्रसाद खनालले भने भाइरसको संक्रमण बढे पनि राजदूतावासले कुनै पत्राचार नगरेको जानकारी दिए।हाल दक्षिण कोरियामा ३५ देखि ४० हजार नेपाली कार्यरत रहेको खनालले बताए।

‘यो सरकारले सोच्ने विषय हो हामीले केही गर्न सक्दैनौं। संक्रमण फैलिएको धेरै दिन भएको छैन। सरकारले यस बारेमा सोच्दै होला,’ खनालले सेतोपाटीसँग भने।हालसम्म समय तालिका अनुसार नै नेपाली कामदार दक्षिण कोरिया गइरहेको उनले जानकारी दिए।

‘पछिल्लो २ ओटा ग्रुपलाई हामीले स्वास्थ्य परीक्षण गराएर पठाएका छौं। अर्को ग्रुप १९ गते जाँदैछ,’ उनले भने।यो विषयमा विभागले छलफल गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए।

‘हामी आन्तरिक छलफलदेखि दक्षिण कोरियाको मानव संसाधन विभागसगँ छलफलमा छौं, संक्रमण भएको स्थानमा कति नेपाली छन्, त्योबारे पनि छलफल गर्दैछौं। सोही बारेमा के गर्ने छिट्टै टुङ्गो लाग्छ,’ उनले भने।१९ गते दक्षिण कोरिया जान लागेको टोलीलाई जान दिने कि रोक्ने भन्नेबारे पनि सकेसम्म आजै निर्णय हुने दाहालले जानकारी दिए।

हाल दक्षिण कोरियामा कोरोनाभाइरसको कारण २ जानाको मृत्यु भइसकेको छ भने ४ सय ४३ जनामा संक्रमण फैलिएको छ।चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *