दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल अग्रस्थान

फागुन १२,विराटनगर / प्रदेश १ मा अन्यको तुलनामा बढी दुर्घटनामा पर्ने र मानविय एवं भौतिक क्षति धेरै हुने सवारी साधनमा मोटरसाइकल अग्रस्थानमा रहेको पाइएको छ । बढी ट्राफिक नियम उल्लंघन पनि मोटरसाइकलबाटै हुने गरेको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा भएका आठ सय ५८ वटा सवारी दुर्घटनामा एक हजार दुई सय ४३ वटा सवारी साधन परेका छन् । दुर्घटनामा दुई सय २२ जनाको मृत्यु भएको छ ।

जसमा पाँच सय ६३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यो समग्र दुर्घटनाको ४५ प्रतिशत हो । आर्थिक वर्षको हालसम्म भएका मोटरसाइकल दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । कार, जीप लगायतका एक सय ७५ वटा निजी सवारी साधन दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । एक सय १४ वटा सार्वजनिक यात्रुबहाक बस दुर्घटनामा ३२ र एक सय छ वटा ट्रक, ट्यांकर र टिपर दुर्घटनामा २५ जनाको मृत्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल नियमको पालना नगरिकन लापरबाहीपूर्ण तरिकाले चलाइने गरेका कारण मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको बताउँछन् । मापसे (मादक पदार्थ सेवन) गरेर चलाउने, हेल्मेट नलगाउने र त्यसको क्लिप नबाँध्ने, दुई जना भन्दा बढी चढ्ने, तीव्र गतिमा हाँक्ने लगायतका नियम उल्लंघन गरेर मोटरसाइकल चलाउने गरिएको उनको भनाइ छ । दुई जनाभन्दा बढी चढ्दा, तीव्र गतिमा र मापसे गरेर चलाउँदा सन्तुलन विग्रिएर धेरै दुर्घटना हुने ट्राफिक प्रहरीले जनाएको छ ।

‘सुरक्षाका लागि केही पनि चिज नहुने हुँदा मोटरसाइकल अरु सवारी भन्दा जोखिमपूर्ण साधन हो । दुर्घटना हुँदा बाँच्ने सम्भावना कम हुन्छ,’ एसपी दाहालले भने, ‘त्यही भएर अरु अंगमा चोट लागे पनि मान्छे बाँच्न सक्छ भनेर टाउकोमा हेल्मेट लगाउने गरिन्छ । तर कतिपय मोटरसाइकल चालक हेल्मेट लगाउँदैनन् र लगाए पनि क्लिप बाँध्दैनन् ।’

सवारी चालकलाई विभिन्न कार्यक्रममार्फत सचेत गरिए पनि नियम पालनामा चुक्दा र अटेरी गर्दा दुर्घटना धेरै हुने गरेको उनले बताए । सवारी चालकमा नियम सुरक्षाका लागि भएकाले पालना गर्नु पर्छ भन्ने मनोभावना जागृत नहुनु दुर्घटना न्यूनीकरण अभियानको मुख्य बाधक रहेको दाहालको भनाइ छ ।

एसपी दाहालले नियम मिच्ने क्रममा मोटरसाइकलमा तीन जना चढ्ने, हेल्मेट र त्यसको क्लिप नलगाउने, तीव्र गतिमा कुदाएर एकले अर्को सवारीलाई ओभरटेक गर्ने, गलत साइड प्रयोग गर्ने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना गाडी चलाउने, लेन अनुसाशन र ट्राफिक संकेतहरुको पालना नगर्ने आदि कारणले दुर्घटना धेरै भइरहेको बताए । दुर्घटना हुनुमा चालक बढी जिम्मेवार हुने उनको भनाइ छ ।

सडक र सवारी साधनको अवस्था, यान्त्रिक गडबडी, छाडा पशु चौपाय, जथाभावी बाटो काट्ने पैदल यात्रु, सडकमा उचित सूचनाको अभाव, सडकको असुरक्षित ट्रयाक, सवारी साधनको अत्याधिक चाप, ट्राफिक संकेत र सूचनाहरु पर्याप्त नहुनु दुर्घटनाका अन्य कारण रहेको ट्राफिकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *