निर्माणाधिन पुल अलपत्र छाडेर ठेकेदार गायव

बिराटनगर / लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको मोरङको केराबारी गाउँपालिका–९ घँगरु र बेलचौरी जोड्ने तुर्के खोलामाथिको पक्की पुल निर्माणको काम तत्काल सुचारु गर्न स्थानीय बासिन्दा र जनप्रतिनिधिले माग गरेका छन् । सात वर्ष अघि निर्माण सुरु गरिएको पुल अलपत्र छाडेर ठेकेदार गायव बनेपछि एउटा समूह प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गुहार्न बिहीबार विराटनगर आएका थिए । अलपत्र परेको अवस्थामा रहेको निर्माणाधिन पुलको काम तत्काल सुचारु गर्ने वातावरण तयार पारिदिन आग्रह गर्न आएको जम्बो टोलीलाई भने समय नभएको भन्दै राईले भेट दिएनन् । पुल निर्माणका लागि सहजीकरण गरिदिन मुख्यमन्त्रीलाई आग्रह गर्न तीनवटा बस रिजर्व गरेर र ४० वटा मोटरसाइकलमा आएका एक सय ७५ जनाको टोली विराटनगर आएको थियो ।

मुख्यमन्त्रीसँग भेट हुन नसकेपछि उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्ना दिए । मुख्यमन्त्रीलाई भेट्न आएको टोलीमा जनप्रतिनिधि, शिक्षक, बुद्धिजिवी, संघ संस्थाका प्रतिनिधि र स्थानीय बासिन्दा थिए । ‘पुल नबनेको पीडा सहन नसकेपछि हामी गाउँनै शून्य बनाएर मुख्यमन्त्रीलाई भेट्न आएका थियौं,’ स्थानीय चण्डीराज चापागाईंले भने, ‘मुख्यमन्त्रीले भेट्न नमानेपछि हामी खिन्न भएर त्यत्तिकै फर्कियौं ।’

वडा अध्यक्ष भूपतिन्द्रप्रताप मल्लका अनुसार सडक विभागको पाँच करोड ५५ लाख रुपैयाँको लागतमा एक सय ३० मिटर लम्बाईको पुल निर्माणको काम २०६९ सालमा सुरु भएको हो । चार वर्षमा निर्माण सक्नु पर्ने पुलको काम चार वर्षमा २० प्रतिशत पनि हुन नसकेको उनको भनाइ छ । पुल निर्माण अलपत्र पर्नुमा ठेकेदार कम्पनी निलगिरी कन्सट्रक्सको चरम लापरबाही र बेवास्था रहेको मल्लले बताए । उनकाअनुसार पुल नहुँदा घँगरु, लाख, विराजे, भालुगौंडा, खयरवारी, भलुवा, डाँडा टोल लगायत स्थानका दुई हजार पाँच सय घरपरिवार पीडामा छन् ।

‘स्थानीयका लागि घरबाट बजार, अस्पताल, शैक्षिक संस्था र अन्यत्र विभिन्न ठाउँमा जाने पुल छैन,’ उनले भने, ‘बनाउन सुरु गरिएको पुल पनि ठेकेदार युवराज राउत गायव बनेपछि अलपत्र अवस्थामा छ ।’

पूर्व जनप्रतिनिधि सनबहादुर बस्नेतका अनुसार पुल सम्झौता अनुसार २०७३ साल असार १ मा सम्पन्न हुनु पर्ने हो । चार वर्षमा बन्नु पर्ने पुलको सात वर्ष वितिसक्दा तीनवटा पिलर मात्रै उठाउने काम भएको उनको भनाइ छ । बस्नेतले गाउँमा कोही बिरामी परेमा, महिलालाई प्रसूति व्यथाले च्यापेमा र कुनै आकस्मिक काम परेमा जोखिम मोल्दै खोला पार गरेर जानु पर्ने अवस्था रहेको बताए । बर्खाका बेला त्यो पनि सम्भव नहुने उनको भनाइ छ । बस्नेतले बर्खाका बेला खोला तरेर पूर्व–पश्चिम र दक्षिण कुनै पनि दिशामा जान सक्ने अवस्था नहुने बताए ।

पुल डिभिजन कार्यालय इटहरीका पूर्व इन्जिनियर कैलाश साहले पुल निर्माण समयमा हुन नसक्नु र अहिले काम अलपत्र छाडिनुमा ठेकेदार कम्पनीको लापरबाही रहेको बताए । ठेकेदारलाई पटक–पटक तागेता गर्नुका साथै लिखित र मौखिक स्पष्टिकरण सोध्दा पनि काम नभएको भन्दै उनले अब ठेकेदारमाथि कारबाही गर्नुको विकल्प नरहने जनाए ।
यता प्रदेश सांसद उपेन्द्र घिमिरेले भने आगामी सोमबारबाट पुल निर्माणको काम सुचारु गर्ने गरी पहल थाल्ने बताए । उनले पुल निर्माण स्थलमा मुख्यमन्त्री राईलाई पनि भ्रमण गराउने प्रतिवद्धता जनाएको स्थानीय चापागाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *