भाइरसको संक्रमण फैलिएपछि नेपालले विदेशबाट आउने केही उडान रोक्ने तयारी

फागुन १९, बिराटनगर/ कोभिड-१९ भाइरसको संक्रमण विश्वभरि फैलिएपछि नेपालले पनि केही मुलुकबाट आउने उडानहरू रोक्ने तयारी गरेको छ।

‍आइतबार दिउँसो सिंहदरबारमा अधिकारीहरूले चीन, कोरियालगायत मुलुकबाट हुने उडान रोक्नेबारे छलफल गरिरहेको जनाइएको छ।मुख्यसचिव लोकदर्शन रेग्मीले यसबारे सम्बद्ध निकायका अधिकारीहरूसँग समन्वय गरिरहेका छन्।

गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोभिड-१९ कोरोनाभाइरस अहिले ५० भन्दा बढी मुलुकमा पुगिसकेको छ। चीनपछि इरान, इटाली र दक्षिण कोरियामा यसको संक्रमण बढी देखिएको छ।

कोभिड-१९बाट अहिलेसम्म २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ भने ८६ हजार ९ सय जना संक्रमित भएका छन्। यस्तै सरकारले केही समयका लागि अन्तर्राष्ट्रिय पाहुनाहरू सहभागी हुने सभा-सम्मेलन पनि रोक्ने तयारी गरेको छ।

चैत २० देखि २२ सम्म हुने तय भएको सगरमाथा संवाद कार्यक्रम पनि रोकिने सम्भावना बढेको छ।फ्लाइट बन्द गर्ने र अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगित गर्नेबारे आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्ने एक अधिकारीले सेतोपाटीलाई बताए।

यसअघि शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्ने तयारीबारे बैठक बोलाएका थिए। उक्त बैठकले कोरोना रोकथामको पूर्वतयारीको लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

गृह, पर्यटन, स्वास्थ्य, अर्थ र शिक्षामन्त्री समेत रहेको सो समितिले अब कोरोनासम्बन्धी आवश्यक निर्णय लिने पर्यटनमन्त्री योगेश भट्टराईले बताए।

‘अहिलेलाई विमानस्थलमा जाँच बढाउने, थप औषधी भण्डारण गर्ने, हेल्थ डेस्कमा स्वास्थ्यकर्मी थप्ने निर्णय भएको छ,’ मन्त्री भट्टराईले भने।

छलफलमा कोरोनाको संक्रमण फैलिएको देशहरुसँगको हवाई सेवा बन्द गर्ने विषयमा पनि कुराकानी भएको थियो। अब परिस्थिति हेरेर आवश्यक परे हवाई सेवा बन्द गर्ने निर्णय पनि समितिले नै गर्ने भट्टराईले जनाए।

समितिको निर्णयसँगै अब नेपाल आउने सबै विदेशी यात्रुहरूको ज्वरो मापन गरिनेछ। जाँचको क्रममा यात्रुको ज्वरो १०० डिग्री फरेनहाइटभन्दा माथि देखिए आइसोलेसन कक्षमा पठाइने स्रोतले जानकारी दिएका छन्।

यसअगाडि चीन, कोरिया, हङकङ, जापान र मलेसियाबाट आउने यात्रुको मात्र ज्वरो जाँच गरिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यी पाँच मुलुकबाट आउने यात्रुको ज्वरो जाँच गर्न भनेर दुईटा थर्मल स्क्यानर जडान गरिएको थियो। तर जडान गरेको दुई हप्ता नबित्दै एउटा स्क्यानर बिग्रिएपछि अहिले एउटा स्क्यानरले मात्र काम गरिरहेको छ।

अब सबै देशबाट नेपाल आउने यात्रुहरूको एउटा थर्मल स्क्यानरबाट जाँच गर्दा यात्रुलाई केही सास्ती हुनेछ। सबैलाई लाइन लगाएर एउटा स्क्यानरबाट जाँच गर्दा ढिला हुने हेल्थ डेस्कमा खटिएका एक स्वास्थ्यकर्मीले जनाए।

स्वास्थ्य मन्त्रालयले विमानस्थलमा थप दुईटा थर्मल स्क्यानर जडान गर्नको लागि खरिद प्रकृया अघि बढाइसकेको छ। अब एक हप्ताभित्रै दुईटा थर्मल स्क्यानर आइपुग्ने स्रोतले बताए।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई पनि कोरोनाभाइरसको उच्च जोखिममा राखेपछि प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा छलफल डाकेका थिए।

नेपालमा अहिलेसम्म एकजना व्यक्तिमा मात्र कोरोनाभाइरसको संक्रमण भेटिएको छ। गत फागुन ४ गते चीनबाट उद्दार गरेर ल्याइएका १ सय ७५ जना नेपालीमा पहिलो स्वास्थ्य जाँचमा कोरोनाको संक्रमण देखिएको छैन।

खरिपाटीस्थि क्वारेन्टाइनमा रहेको उनीहरूको अन्तिम स्वास्थ्य परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरिएको छ। दुईदिनपछि आउने नतिजामा कोरोनाको संक्रमण नदेखिएकालाई सरकारले घर पठाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *