कोरोना भाइरस विश्वभर फैलिन थालेपछि, नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित

फागुन १९, बिराटनगर। चीनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएर महामारीको रुप लिन थालेपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जारी भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको मान्छेबाट मान्छेमा तीव्र गतिमा सर्ने कोरोना भाइरस (कोभिड(१९) विश्वका ४५ भन्दा धेरै मुलुकमा फैलिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले २० लाख पर्यटक ल्याउने गरी थालेको पर्यटन वर्ष २०२० स्थगित गरेको हो । जनवरी १ का दिन एक भव्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भ्रमण वर्ष ठ्याक्कै २ महिनापछि स्थगित भएको हो । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न सरकारले विशेष तयारी थाल्ने भएको छ ।

त्यसकै कारण सन् २०२२ मा आयोजना गर्ने गरी यो सालको भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि सरकारले पहिलोपटक अन्तराष्ट्रिय समुदाय सहभागी गराएर गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ स्थगित गरेको छ । काठमाडौंको चन्द्रागिरिमा गर्ने भनिएको सगरमाथा संवाद स्थगित गर्ने निर्णय लिएको छ ।

यसैबिच सरकारले तत्कालका लागि ठूला सभा, सम्मेलन, भोजभतेर सहितका कार्यक्रम नगर्न आह्वान गरेका छन् । चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएपछि सरकारले सतर्कता अपनाउन थालेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले महोत्सव, सभा समारोह जस्ता भीडभाड हुने कार्य नगर्न आह्वान गरेको हो ।

’कोरोनाको जोखिम कम गर्न केही समयका लागि महोत्सव, सभा समारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आमसर्वसाधारण र आयोजकहरुलाई आह्वान गर्दैछौँ’, स्वास्थ्यमन्त्री भानुभत्त ढकालले भने, ’अफ्ठ्यारो अवस्थामा आएमा अन्तराष्ट्रिय हवाई उडान पनि रोकिनेछ ।’ ढकालले त्रिभुवन विमानस्थलबाट बाहिरिने र भित्रिने दुवैको स्वास्थ्य जाँच गरिने बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलन हुँदै भित्रिने सबैको यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने तयारी सरकार रहेको उनले बताए । अहिले त्रिभुवन विमानस्थलमा ६ वटा थरमल स्क्रयानर राखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *