मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

२० फागुन, बिराटनगर। पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।उनी सोमबार साँझ अस्पताल पुगेका हुन् र, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।

डा. ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ प्रत्यारोपण

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ ।

प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर ५-७ दिनमा अस्पतालमा राखिन्छ ।

अस्पताल स्रोतकाअनुसार भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए ।

ओलीले २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि गत कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *