तीन जना भारतीय नागरिकलाई बिहीबार राति हतियारसहित पक्राउ

विराटनगर / मोरङको सुनवर्षी–८ हर्चनगढीबाट प्रहरीले तीन जना भारतीय नागरिकलाई बिहीबारराति हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररियाका २१ वर्षीय अजयकुमार मण्डल, राकेशकुमार साह र १८ वर्षीय आनन्दकुमार मण्डल छन् । रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेत्रृत्वको टोलीले उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल, गोली र अनटेस्ट मोटरसाइकल बरामद गरेको छ । एउटा होटलमा बसेर मदिरा सेवन गरिरहेका बेला शंकास्पद गतिविधी गर्न थालेपछि प्रहरी पुगेर खानतलासी गर्दा साथमा पेस्तोल र गोली फेला परेको दाहालले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु सुनवर्षी–८ का बब्लु मण्डलको बिहेका लागि भनेर आएको खुलेको छ । पक्राउ पर्ने तीनै जना बब्लुका आफन्त र साथीभाई रहेको खुलेको दाहालले बताए । बिहेको निहुँ बनाएर अपराधिक गतिविधी गर्न भारतीय नागरिक आएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । उनीहरु विरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको र वास्तविक कुरा अनुसन्धानपछि खुल्दै जाने प्रनि दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *