आजबाट पेट्रोलको समस्या समाधान हुन्छः डिलर्स

बिराटनगर /आइतबारबाट पेट्रोलियम पदार्थमा समस्या देखिएको छ। केही पेट्रोल पम्प बन्द देखिन्छन् भने खुलेका पम्पमा पनि उपभोक्ताको लाइन छ। विश्वभर फैलिएको कोरोनाको त्रासले गर्दा पनि दैनिक उपभोग्य वस्तुमा समस्या देखिएको व्यवसायीहरू बताउँछन्।

बुधबारबाट भने पेट्रोल तथा डिजेलमा समस्या नआउने नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए।

‘इन्धनको आपूर्तिमा केही समस्या छैन, पहिलेको तुलनामा बढी नै आइरहेको छ’, अध्यक्ष प्रधानले भने, ‘केही प्राविधिक समस्याले पम्पमा उपभोक्ताको लाइन देखिएको हो, त्यो आजैबाट साम्य हुन्छ।’

साथै पेट्रोलियम पदार्थको सहज उपलब्ध नभईकन उपभोक्तालाई साधनमा बाहेक ग्यालेन तथा अन्य भाँडामा इन्धन नदिन समेत सम्पूण व्यवसायीलाई निर्देशन दिएको उनले जानकारी दिए।

कोरोना फैलिन नदिन भारतले आइतबारबाट मूख्य चार नाका बाहेक अन्य नाका बन्द गरेको छ। तर बजारमा भने भारतले नाकाबन्दी गर्यो भन्ने हल्लाले गर्दा उपत्यकाबासीले आवश्यकताभन्दा बढी इन्धन लैजानाले बजारमा इन्धनको समस्या देखिएको अध्यक्ष प्रधान बताउँछन्।

‘हामीले शुक्रबार ल्याएको इन्धनले आइतबारसम्म पुग्थ्यो, नाकाबन्दीको हल्लाले सबैले फुलट्याङ्क लैजानाले इन्धनको समस्या देखियो,’ उनले भने।

आजबाटै बजारमा पेट्रोल पम्पमा उपभोक्ताको लाइन शून्य हुने आयल निगमका निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।

‘हिजो रातिसम्म सबै लोड गरेर पठाइसकेको छ, उपभोक्ताले आत्तिनु पर्दैन’, निर्देशक पौडेलले भने।उनका अनुसार मङ्गलबार पेट्रोल ११ लाख ७० हजार लिटर र डिजेल १४ लाख ५० हजार लिटरको माग थियो। यो दशैंको बाहेक सामान्य अवस्थाको सबैभन्दा बढी माग हो।त्यस्तै, बुधबार बिहानसम्ममा भने ११ लाख लिटर पेट्रोल र १० लाख लिटर डिजेलको माग आएको निगमले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *