कोरोना भाइरसले चीनभन्दा इटालीमा किन निम्त्याइरहेको छ विनास ?

कोरोना भाइरसको संक्रमणबाट इटालीमा सबैभन्दा धेरै मृत्यु भएको छ । १९ मार्चमा इटालीमा कोरोना भाइरसका कारण भएको मृत्युको आँकडा चीनभन्दा पनि माथि पुगेको छ । डिसेम्बरबाट यो खतरनाक भाइरस संसारभरी फैलन सुरु भएको हो ।

इटालीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ । यहाँ फेब्रुअरी २१ तारिखबाट कोरोना फैलन सुरु भएको थियो । चीनमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ३ हजार २ सय ४५ को मृत्यु भइसकेको छ । इटालीमा बुधबार एकैदिन ४ सय ७५ को मृत्यु भएको थियो ।

सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार इटालीमा ४१ हजार ३५ संक्रमित देखिएका छन् । पछिल्लो तीन दिनमा इटालीमा कोरोना भाइरसको संक्रमण १४.९ प्रतिशतले वृद्धि भएको छ । कोरोना भाइरसबाट संक्रमित भएपछि इटालीको मृत्युदर अन्य देशको तुलनामा १२ प्रतिशत बढी छ ।

कोरोना भाइरसले वृद्ध जनसंख्यालाई धेरै खतरा छ । यसै गरी जुन व्यक्तिलाई पहिले नै कुनै रोग लागेको छ उनीहरुलाई कोरोना भाइरसले सजिलै संक्रमित गर्नसक्छ । संसारभरी वृद्ध जनसंख्याको मामलामा इटाली दोस्रो स्थानमा छ । यहाँका युवा जनसंख्या वृद्ध–वृद्धासँग निकै नजिक छन् ।

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले यही दुई कारकलाई कोरोना भाइरसबाट हुने भयानक मृत्युदरका लागि जिम्मेवार मानेका छन् । युनिभर्सिटी अफ अक्सफोर्डका डेमोग्राफर र एपिडेमीलोजिस्ट जेनिफर बीम डाउडले भने, ‘धेरै लामो आयुले यहाँको जनसंख्याको स्वरुप परिवर्तन गर्न महत्वपूर्ण भूमिका निभाएको छ । यहाँको मृत्युदरमा तीब्र रुपमा गिरावट आइरहेको छ ।’

अनुसन्धानकर्ताका अनुसार इटालीका युवा–युवती अन्य देशको तुलनामा आफ्ना हजुरबुवा–हजुरआमासँग धेरै नजिक छन् । धेरैजसो युवा आफ्ना आमाबुवा र हजुरबुवा–हजुरआमासँग एउटै घरमा बसिरहेका छन् । फ्यामिली डाटाका अनुसार ग्रामिण इलाकाका सबै युवा आफ्नो आमा–बुवासँगै बस्छन् र कामका लागि दैनिक शहर जान्छन् जस्तैः लोम्बार्डी इलाकाको मिलान जहाँ कोरोना भाइरस निकै तीब्र रुपमा फैलिरहेको छ ।

विश्वविद्यालयका अनुसन्धानकर्ताले शहरबाट गाउँमा आवतजावतका कारण भाइरसले शान्त तरिकाले संक्रमण फैलाइरहेको बताएको छ । उनीहरुका अनुसार शहर र गाउँमा काम गरिरहेका युवा भीडभाडयुक्त इलाकामा गएका होलान् र त्यहाँबाटै कोरोना भाइरसलाई आफ्नो घर ल्याएका होलान् । यसरी नै संक्रमण वृद्ध–वृद्धामा फैलिएको हुनसक्ने बताइएको छ ।

अनुसन्धानकर्ताले भनेका छन्, ‘यदि उनीहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुले आफ्नो घरका ज्येष्ठ नागरिकलाई संक्रमण फैलाइरहेको छु भन्ने थाहै हुँदैन । ज्येष्ठ नागरिकको स्वासप्रस्वास तन्त्र कमजोर हुने भएकाले कोरोना भाइरसको संक्रमणको आशंका धेरै रहन्छ ।’

बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधी क्षमता बलियो हुन्छ । यसबारे अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताले भनेका छन्, ‘बच्चाको फोक्सोमा धेरै क्षती भइसकेको हुँदैन । हाम्रो फोक्सोमा प्रदुषित हावा बिस्तारै पुग्ने गर्छ र त्यो क्रमशः खराब हुनथाल्छ । त्यसकारण बच्चाको फोक्सो नयाँ भाइरससँग तगडा तरिकाले लड्नसक्छ ।

इटाली पूर्ण रुपमा लकडाउन छ । अनुसन्धानकर्ता बीम भन्छन्, ‘हामी ज्येष्ठ नागरिकलाई मात्रै आइसोलेट गर्ने नभई पूरा जनसंख्यालाई सोसल डिस्टेन्सिङका लागि प्रोत्साहित गरेमात्रै मद्दत मिल्ने कुरामा केन्द्रीत हुन चाहन्छौं । मेरो मान्यता यो छ कि यदि तपाईंको देशमा वृद्धवृद्धाको जनसंख्या धेरै छ भने यो शोध थप महत्वपूर्ण हुनेछ । महामारीसँग लड्न इटालीको यो उदाहरण अन्य देशका लागि पनि काम लाग्न सक्छ । देशले आफ्नो वृद्ध जनसंख्या भएको क्षेत्रको पहिचान गर्नुपर्छ र सबैभन्दा गम्भीर स्थिती कहाँ हुनसक्छ भनेर अनुमान लगाउनुपर्छ । कुन इलाकामा स्वास्थ्य सुविधाको आवश्कता पर्छ त्यो पनि हेर्नुपर्छ ।’

यद्यपि, ज्येष्ठ नागरिक बढी भएका देशमा कोरोना भाइरसको संक्रमण फैलने र मृृत्युदर बढ्छ नै भन्ने छैन । जापानमा २८ प्रतिशत जनसंख्या ६५ वर्षमाथिका छन् तर १९ मार्चसम्म त्यहाँ ९ सय २४ संक्रमित र २९ व्यक्तिको मृत्यु भएको छ । इटालीमा कोरोनाका ४१ हजार ३५ संक्रमित भेटिएका छन् भने ३ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ । इटालीले कोरोना भाइरसको संक्रमण पहिचान गर्न र यसविरुद्धको लडाईं सुरु गर्न पनि ढिलाई गरेको थियो जसका कारण यो तीब्र रुपमा फैलिएको हो ।

इटालीमा धेरैजसो जनसंख्या विभिन्न रोगबाट ग्रसित छन् जसका कारण पनि कोरोना भाइरसका कारण यहाँ धेरैको मृत्यु भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *