कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ८ सय नाघे

काठमाडौं : तीन महिनाअघि चीनबाट सुरु भएको भाइरस २०१ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ८ सय नाघेको छ भने ६ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् ।यो संगै कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित देशको संख्या दुई सय नाघेको छ ।

सबैभन्दा बढी इटलीमा कोरोना भाइरसका कारण १० हजार २३ जनाले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्या ९५ हजार ५ सय पुगेको छ । त्यहाँ शनिवार मात्रै थप ८ सय ८९ जनाको मृत्यु भएको छ ।

उता, अमेरिकामा संक्रमितको संख्या १ लाख २४ हजार नाघेको छ । यो संख्या संक्रमण फैलिएका देशहरु मध्येको सबैभन्दा बढी हो । त्यहाँ मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ । त्यहाँ शनिवार मात्रै १९ हजार ३ सयभन्दा बढी संक्रमित भेटिएको हो ।

उता, स्पेनमा पनि संक्रमितको संख्या ७३ हजार नाघेको छ । त्यहाँ शनिवार मात्रै ७ हजार पाँच सय संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ । फ्रान्समा पनि एकै दिन ३ सय १९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा संक्रमितको संख्या ३७ हजार ५ सय नाघेको छ भने २ हजार ३ सय १४ जनाको मृत्यु भैसकेको छ । कोरोनाका कारण इरानमा २ हजार ५ सय १७, बेलायतमा १ हजार १९, नेदरल्याण्ड्समा ६ सय ३९, बेल्जियममा ३ सय ५३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, जर्मनीमा ४ सय ३३, स्वीट्जरल्याण्डमा २ सय ६४, इण्डोनेशियामा १ सय २, टर्कीमा १ सय ८, पोर्चुगलमा १ सय र दक्षिण कोरियामा १ सय ४४ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ भने ९ सय ८७ जना संक्रमित भएका छन् । भारतमा एकै दिन एक सय जना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *